एउटै व्यक्तिको दुइवटा मतदाता परिचय पत्र
काठमाडौँ । यही मसिर ४ गते हुने भनिएको संविधानसभा सदस्य निर्वाचनका लागि संकलित फोटोसहितको मतदाता नामावलीमा निर्वाचन आयोगले गम्भीर त्रुटि गरेको भेटिएको छ । राष्ट्रिय परिचयपत्रका लागि समेत भन्दै निर्वाचन आयोगले लमजुङमा संकलन गरेको फोटोसहितको मतदाता नामावलीमा त्रुटि भेटिएको हो । जिल्ला निर्वाचन कार्यालय लमजुङले फोटोसहितको नामावली संकलन गरेर निर्वाचन आयोगमा पठाएकोमा निर्वाचन आयोगले एउटै व्यक्तिको दुइवटा फोटोसहितको मतदाता परिचयपत्र पठाएको छ । निर्वाचन आयोगले लमजुङ क्षेत्र नम्बर २ अर्न्तर्गत भोटेओडार गाउँ विकास समिति वडा नम्बर ८ घर भएका नरेन्द्र थापाको नाममा दुइवटा फोटोसहितको परिचय पठाएको हो । भक्ति नमुना उच्च मावि बालुने मतदान केन्द्रका लागि पठाएको फोटोसहितको मतदाता परिचयपत्रमा थापाको मतदाता नामावलीमा क्रमसंख्या, मतदाता नम्बर, नागरिकता प्रमाणपत्रको नम्बर र आमाको नाम फरक रहेको छ ।निर्वाचन आयोगले क्रमसंख्या ३ सय ७६ र ३ सय ७७ राखेर एउटै ब्यक्तिको दुइवटा फोटोसहितको मतदाता नामावली जिल्ला निर्वाचन कार्यालय लमजुङमा पठाएको हो । निर्वाचन आयोगले पठाएको थापाको एउटा परिचयपत्रमा नागरिकता नम्बर ४५-०१-६९-०१३७८ र अर्कमा ४५-०१-६९-०१३७४ उल्लेख छ । नागरिकता भने लमजुङ जिल्लामा जारी भएको देखिएको छ । यस्तै आमाको नाम एउटामा विष्णुकुमारी र अर्कोमा विष्णुमाया रहेको छ । फोटोसहितको परिचय पत्रमा राखिएको श्यामश्वेत तस्वीर भने एउटै व्यक्तिको भए पनि फरक छ । तर, दुवै परिचयपत्रमा जन्ममिति भने एउटै राखिएको छ । जिल्ला निर्वाचन अधिकारी रणबहादुर खत्रीले केही यस्तो त्रुटिहरू हुन सक्ने बताए । उनले थापाजस्तै अन्यको पनि यस्तो हुनसक्ने बताउँदै निर्वाचन आयोगले एउटालाई मात्रै मान्यता दिने बताए । फोटोसहितको मतदाता नामावली दर्ताका क्रममा दोहोरो नाम भएका सबैलाई हटाएर निर्वाचन आयोगमा पठाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तर, निर्वाचन आयोगले फेरि रुजु गरेर पठाए पनि एउटैको नाममा दुइवटा मतदाता नामावली भेटिएपछि मतदाताहरूले भने आर्श्चर्य ब्यक्त गरेका छन् । जिल्ला निर्वाचन कार्यालयमा पठाएको फोटोसहितको नामावलीमा यस पटक पहिलोपटक नाम दोहोरिएको भेटिए पनि अन्यको पनि दोहोरिएको हुनसक्ने निर्वाचन कार्यालयले जनाएको छ ।