दमकको दुम्सेमा आगलागी

झापा, ३ मंसिर। झापाको दमक-५ स्थित दुम्सेको नयाँ बस्तीमा गए राति आगलागी हुँदा नौ घर जलेर नष्ट भएको छन् ।
विद्युत् सर्ट भई आगलागी हुँदा सो बस्तीका नौ घर पूर्णरुपमा नष्ट भएको थियो । आगलागी भएको सो सुकुम्बासी बस्तीको अन्नपात, लत्ताकपडा तथा अन्य सरसामान सबै जलेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । आगलागीबाट करिब २० लाख रुपैयाँ मूल्यबराबरका सम्पत्तिमा क्षति पुगेको प्रारम्भिक अनुमान छ ।राति साढे एक बजेतिर धनमाया लिम्बूको घरबाट आगलागी सुरु भएको थियो । आगलागीबाट बबिता लिम्बू, बुद्धिमाया भुजेल, खड्गबहादुर तिम्सिना, मनिता खड्का, दीपेन्द्र तिम्सिना, गुमानध्वज सुब्बा, जसमाया मगर र मिलनकुमार दासको घर जलेको थियो । आगलागीबाट बा ३ प २७६५ नंको मोटरसाइकलमा समेत क्षति पुगेको थियो ।आगलागी दमक नगरपालिकाको दमकललगायत स्थानीय बासिन्दा र प्रहरी मिलेर बिहान ४ बजे नियन्त्रणमा आएको थियो ।- रासस