नेपाली वैज्ञानिकले बनाए सोलार ड्रायर
काठमाडौँ , २२ पुस । दुई महिनाअघि पानी परेका कारण बिक्री हुन नसकेका च्याउ किसानहरुले फाल्न पनि सकेनन, न त सुकाउन सम्भव थियो । उनीहरु नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को खुमलटारस्थित कृषि इन्जिनियरिङ महाशाखामा हतारिँदै पुगे । महाशाखाका वैज्ञानिकहरुले गत भदौमा तयार गरेको ड्रायरको सफलताप्रति मक्ख छन । यस ड्रायरबाट ठुलो परिमाणमा कृषि उत्पादन सुकाउन सक्नेछन । यो विदेशबाट आयात गरिने ड्रायरभन्दा निकै कम खर्चमा तयार गर्न सकिन्छ ।
महाशाखाका प्रमुख श्रीमत श्रेष्ठले ठुलो परिमाणमा एकैपटक कफी, मसला, स्याउ, च्याउ, सिस्नु, तरकारीजस्ता कृषि उत्पादन सुकाउन सकिने जानकारी गराउदै भन्नुभयो‘कृषि उत्पादन सुकाउन सकिने यति ठुलो सोलार ड्रायर पहिलोपटक विकास गरेका हौँ’ । यसबाट कृषक र उद्यमीले राम्रो लाभ लिन सक्नेछन ।’’
हाल तयार पारिएको ड्रायरमा एकैपटक दुई सय केजीसम्म उत्पादन सुकाउन मिल्छ । उहाँले यसै प्रविधिलाई प्रयोग गरी एक मेट्रिक टनसम्म उत्पादन सुकाउन मिल्ने ड्रायर निर्माण गर्न सकिने बताउनुभयो ।
क्लोज टनेल प्रविधिअनुरुप तयार गरिएको ड्रायरमा सिलपोलिन(घामले नखाने प्लास्टिक) प्रयोग गरिएको छ । दुई सय केजीसम्मको उत्पादन सुकाउन मिल्ने ड्रायर तयार गर्न ३५ हजार रुपियाँ जति मात्र खर्च लाग्छ । यही क्षमताको विदेशी ड्रायर किन्नु परेमा पाँच लाख रुपियाँ जति खर्च लाग्ने बताइएको छ ।
नार्कले विकास गरेको ड्रायरभित्रको तापक्रम बाहिरी तापक्रमभन्दा २० डिग्री सेल्सियसभन्दा बढी रहन्छ ।