पत्रकार कुँवरद्वारा जीवनरक्षाको अपिल

२०७० पुष २७ गते, शनिबार

कैलाली,२७ पुस । टीकापुरबाट प्रकाशित टीकापुर टाइम्स दैनिकका प्रकाशक सम्पादक एवं रेडियो नमस्तेका प्रवन्ध निर्देशक कर्ण कुँवरले आफ्नो जीवनरक्षा गरिदिन आग्रह गरेका छन् । पत्रकार कुँवरले आफ्नो ज्यान लिने उद्देश्यले पटक पटक आक्रमण हुँदा पनि प्रशासनले आँखा चिम्लेर बसेको भन्दै ज्याज बचाइदिन आग्रह गरेका हुन् ।आफूमाथि पटक–पटक आक्रमण गर्ने टीकापुरका तपेन्द्र कुँवरलाई प्रशासनले कानुनी दायरामा नल्याउँदा ज्यान असुरक्षित भएको पत्रकार कुवँरले बताए ।गत मंसिर ९ गते टीकापुरमा पत्रकार कुँवरमाथि आक्रमण गरी गम्भीर घाइते बनाउने तपेन्द्रविरूद्ध ज्यान मार्ने उद्योगमा दर्ता गरिएको किटाणी जाहेरीबारे प्रहरी उदाशीन भएपछि तपेन्द्रसहित तीनजनाको नकावधारी समूहले दुर्गौली गाविस–६ लायकपुर नजिकै पुनः आक्रमण गरेको थियो ।
आक्रमणमा परी कुँवरको टाउको, आँखा र खुट्टामा चोट लाग्नुका साथै एकथान नोकिया फोन पनि आ क्रमणकारीले लुटेका थिए । बाटुवाले उद्दार गरेकाले आफ्नो ज्यान जोगिएको कुँवरले बताए ।
बुधवारको घटनाको दुई दिन नवित्दै शुक्रवार दिउँसै तपेन्द्र कुँवर पेस्तोलसहित रेडियो नमस्तेमा आएर कुँवरलाई खोजेपछि पत्रकार कुँवरको ज्यान उच्च जोखिममा परेको हो ।
कुँवरलाई खोज्दै हिँडेको खबर प्रहरीलाई दिएलगत्तै प्रहरी टोलीको जम्काभेटमा तपेन्द्रले प्रहरी टोलीमाथि पनि हतियार देखाइ फरार भएको जम्काभेटमा परेका प्रहरीले जनाएको छ ।
शुक्रवार नै तपेन्द्रले रेडियो नमस्तेका स्टेशन म्यानेजर परमानन्द पाण्डेलाई टीकापुरको मूख्य बजार खानेपानी ट्याङ्की नजिकै आफूले चढ्ने गरेको मोटरसाइकलको नम्बर र रङ्गबारे भनेमा ज्यानै लिने धम्की दिएको पाण्डेले बताए ।
पत्रकार कुवँरमाथि सांघातिक आक्रमण गरी फरार तपेन्द्रसँग टीकापुरका तेजप्रताप राणासहितको संरक्षण र सहयोग रहेको जानकारी प्रहरीलाई गराउँदा पनि निगरानी र अनुसन्धान नगर्दा तपेन्द्रले बुधवार पुनः साँघातिक आक्रमण गरेका थिए ।
आफूमाथि आक्रमणको धम्की दिइरहेको जानकारी टीकापुरमा प्रहरी प्रमुख डीएसपी भेषराज श्रेष्ठलाई दिएलगत्तै आक्रमण भएको थियो ।
गत मंसिर ९ गतेको घटनापछि तपेन्द्रले ज्यान मार्ने उद्योगको जाहेरी फिर्ता लिन भन्दै कर्ण कुँवरलाई मार्ने धम्की दिएको करिव १५ पेज धम्कीपूर्ण विषय र १५ मिनेट लामो अडियो रेकर्ड प्रहरीलाई दिंदा पनि प्रहरीले सक्रियता देखाएको छैन ।
तपेन्द्र टीकापुरमै रहँदासमेत पक्राउ गर्न नसक्दा व्यावसायिक र पेशागत असुरक्षा महसुस भएपछि रेडियो नमस्तेको प्रशारण र टीकापुर टाइम्स दैनिकको प्रकाशनका विषयमाथि चुनौति आएको पत्रकारहरुको भनाई छ ।
टीकापुरमा भएको एक अर्को घटनामा सुरक्षा सर्तकता नदेखाएको भन्दै तीन सईसहित ४८ जना प्रहरीलाई सरूवा गरिएको घटना नसेलाउँदै सञ्चारकर्मीहरुमाथि धावा बोल्न थालेपछि प्रहरीको अनसन्धानमा समेत चुनौति थपिएको छ ।
पत्रकार कुँवरले कैलालीका प्रहरी प्रमुख एवं एसपी मोहनराज जोशीलाई घटबारे शुक्रबार जानकारी गराउँदै ज्यान सुरक्षाको माग गरेपछि एसपी जोशीले घटनालाई गम्भीरतापूर्वक लिई कारवाही अगाडि बढाइने आश्वासन दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु