यात्रुबाहक बस लुटियो

२०७० पुष ३० गते, मंगलवार


महोत्तरी,३० पुस – काठमाडौंबाट सिन्धुली जाँदै गरेको ना ४ ख १५०१ नम्बरको एक यात्रुबाहक बस महोत्तरीमा आज विहान लुटिएको छ ।बसलाई नियन्त्रणमा लिएर लुटेराहरुले यात्रुहरुबाट नगद, गरगहना, मोवाइल लगायतका सरसामान गरी करिब पाँच लाख रुपैयाँ मूल्य बराबरको धनमाल लुटेका हुन् ।कटुवा पेस्तोल र खुकुरी सहितका ९ जना लुटेराले चालकलाई नियन्त्रणमा लिएर आफैंले गाडी चलाई लुटपाट गरेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिनुभयो ।
लुटेराले एक लाख रुपैयाँ भन्दा धेरै नगद, ६ तोला भन्दा धेरै सुनका गहना, मोवाइल लगायतका सरसामान लुटेका हुन् । काठमाडौंको कलंकीबाट यात्रु बनी चडेका ४ जना र हेटौंडाबाट चडेका ५ जना गरी नौ जना लुटेराले विहान ४ बजे सर्लाहीको फुलजोर जंगलमा बस प्रवेश गर्नासाथ लुटपाट सुरु गरेका यात्रुहरुले बताएका छन् ।
गुडिरहेको बस भित्र हतियार देखाएर महोत्तरी खयरमारा घर भएका ड्राइभर कृष्णकुमार श्रेष्ठलाई कुटपिट गर्दै नियन्त्रणमा लिएपछि लुटेरा मध्येका एकले बस चलाएको र बाँकी ८ जनाले लुटपाट गरेका प्रहरीले जनाएको छ ।
कुटपिटबाट घाइते भएका बस चालकको बर्दिवासमा उपचार भैरहेको छ । लुटपाटपछि महोत्तरीको बर्दिवास नजिक विश्वकर्मा चोकमा गाडी रोकेर उनीहरु जंगलतिर भागेका प्रहरी निरीक्षक झाले बताउनुभयो ।लुटेराले २० किलोमिटर जंगल क्षेत्रमा आफैंले गाडी गुडाएर लुटपाट गरेका हुन् । घटनाको जानकारी पाउनासाथ विहान साढे ४ बजे घटनास्थलमा पुगेको प्रहरीले विश्वकर्मा चोक नजिकबाट शंकास्पद एक जनालाई मोटरसाईकलसहित नियन्त्रणमा लिइएको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु