झुटो बोलि पत्ता लगाउने मेसिन सञ्चालनमा

२०७० माघ ६ गते, सोमबार


काठमाडौं, ६ माघ -पोलीग्राफ मेसिन अर्थात् अपराधमा संलग्न व्यक्तिले झुटा बोलेको थाहा पाउने मेसिन प्रहरीले सञ्चालनमा ल्याएको छ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले ३ इन्स्पेक्टर र ६ जना सईलाई उक्त मेसिन जिम्मा लगाएको छ ।ती मेसिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, विशेष ब्युरो, लागूऔषध ब्युरो, महानगरीय प्रहरी आयुक्तको कार्यालय र अपराध अनुसन्धान विभागमा राखिनेछ । कुनै गम्भीर प्रकृतिका घटनासँग जोडिएका व्यक्तिले बोलेको कुरा सही या गलत छुट्याउन मेसिनले मदत गर्ने बताइएको छ । ‘यो मेसिन प्रयोगपछि निर्दोष व्यक्ति पर्दैनन् र दोषी छुट्दैनन्’ अपराध अनुसन्धान विभागका डीआईजी सुरेन्द्रबहादुर शाहले भने, ‘यसले पुराना अपराधका अपराधीलाई पक्राउ गर्न सहज हुन्छ ।’
डीआईजी शाहका अनुसार अब प्रहरीले कर्तव्य ज्यान लगायतका पुराना घटनाहरूको पुनः अनुसन्धान थाल्नेछ । ‘आशंका गरिएको तर पुष्टि हुने आधार नभेटिएका मुद्दालाई किनारा लगाउन यसले मदत गर्छ,’ उनले भने । मेसिन सञ्चालनका लागि नेपाल प्रहरीका १० प्रहरी कर्मचारीलाई अमेरिकी दूतावासले २ महिना तालिम दिएको थियो । प्रहरीले डीएनए एनालाइजर र हस्ताक्षर, नक्कली नोट र किर्ते कागज पत्ता लगाउने भीएससी मेसिन माघ दोस्रो सातादेखि सञ्चालनमा ल्याउने भएको छ । प्रहरीसँग डीएनए एनालाइजर मेसिन नहुँदा कतिपय अपराधका घटनामा डीएनए टेस्ट गराउन भारतको कोलकाता र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाउने गरिन्थ्यो । डीएनए एनालाइजर प्रहरीलाई एसिया फाउन्डेसनले सहयोग स्वरूप प्रदान गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु