विद्युतको कारण रेडियो सेवा बन्द
लमजुङ,७ माघ – विद्युत सेवा अवरुद्ध हुँदा लमजुङका ३ वटै रेडियोको प्रशारण ४ दिनदेखि रोकिएको छ । शनिबारदेखि विद्युतको ट्रान्समिटरमा आएको खराबीका कारण सदरमुकामका रेडियो चौतारी, रेडियो मर्स्याङ्दी र रेडियो लमजुङ बन्द भएको हो ।विद्युत सेवा नियमित नहुँदा र हाई भोल्टेज विद्युत प्रवाह हुँदा रेडियोका उपकरणहरुमा समेत क्षति पुर्याएको रेडियो सञ्चालकहरुले बताएका छन् । विद्युत अवरुद्ध भएका कारण उत्तरी लमजुङको भूलभूले र बाहुनडाँडामा पनि स्थानीय वासिन्दाले मोवाइल चलाउन पाएका छैनन् ।
हिमालपारिको जिल्ला मनाङमा पनि हिमपातका कारण ४ दिनदेखि अवरुद्ध टेलिफोन अझै सञ्चालनमा आएको छैन । लमजुङ बाहुनडाँडाको नेपाल टेलिकमको रिपिटर टावरमा विद्युत आपुर्ति हुन नसक्दा मनाङमा टेलिफोन सञ्चालन नभएको हो ।
सञ्चारका साधन नचल्दा अन्नपूर्ण चक्रीय पदमार्गमा गएका पर्यटक पनि समस्यामा परेका छन् । लमजुङको बाहुनडाँडामा शनिबारदेखि नै विद्युत सेवा अवरुद्ध भएकोमा रिपिटर टावरमा राखिएको ब्याट्रीले आइतबारसम्म मात्रै धानेपछि मनाङसम्म टेलिफोनको लिङ्क पुग्न नसकेको टेलिकम लमजुङका प्रमुख सुभाष देवकोटाले वताए ।