कुष्ठरोग दिवस मनाईंदै
काठमाडौं, १२ माघ – हरेक वर्षको जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाइने गरिन्छ । नेपालमा पनि आज ६१ औं विश्व कुष्ठरोग दिवस, भेदभावको अन्त्य र प्रभावितको पुनस्र्थापना, कुष्ठरोग मुक्त समाज हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ मनाईंदैछ । नेपालमा कुष्ठरोग निवारणको अवस्थामा रहेपनि नयाँ बिरामीहरु देखा पर्दै गएकाले चुनौती थपिँदै गएको चिकित्सकले बताएका छन् ।
सरकारले २०६६ सालमा नेपालबाट कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । तर हरेक वर्ष झण्डै ३ हजारको हाराहारीमा नयाँ बिरामीहरु देखा परेकाले चुनौती बढ्दै गएको कुष्ठरोग निवारण महाशाखाले जनाएको छ ।
नयाँ बिरामीमध्ये ३ प्रतिशतको शरीर अंगभंग भएको पाइएको छ । कुष्ठरोग पूर्ण रुपमा नियन्त्रण गर्न सरकारले स्रोत बढाउने, समयमै विरामी पहिचान गरी निःशुल्क उपचार गर्ने र अपांगताको दर सन् २०२० सम्ममा १० लाख जनसंख्यामा १ भन्दा तल झार्ने लक्ष्य अनुसार काम थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।८५ प्रतिशत भन्दा बढी समस्या तराइमा रहेको मन्त्रालयका सचिव डा प्रविण मिश्रले बताउनुभयो । नेपालमा अहिलेसम्म १ लाख ७२ हजार भन्दा भन्दा धेरैको पूरा उपचार भईसकेको र त्यसमध्ये झण्डै ३० हजार व्यक्तिमा कुनै न कुनै अपांगता भएको पाईएको उहाँले बताउनुभयो ।
नियमित उपचार गरे कुष्ठरोग पूर्ण रुपमा निको हुन्छ । यो रोग लागेपछि चिकित्सकको सल्लाहमा नियमित औषधि सेवन गरे शरीर अंगभंग हुनबाट जोगिन्छ । स्वास्थ संस्थाहरुमा कुष्ठरोगको औषधि निःशुल्क पाइन्छ ।सरकारले यो रोगको नियमित उपचार गराएका बिरामीलाई एक हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।