विवाह दर्ता गर्दा घुस !
काठमाडौँ,१५ माघ ।गुल्मीको दोहोली गाविस सचिवले विवाह दर्ता गरिदिएबापत रु एक हजार ५०० घुस लिएको रहस्योद्घाटन भएको छ ।दोहोली–९ निवासी रामबहादुर खत्री र श्रीमती लोकमायासँग विवाह दर्ताको प्रमाणपत्र बनाउँदा गाविस सचिव भीमप्रसाद पोखरेलले सो रकम घुस लिएको रहस्योद्घाटन भएको हो । “पहिला नागरिकता बनाउँदा केही लाग्दैन भनेर विवाह दर्ता गरेको रु ५०० दिएँ,” खत्रीले भने पछि नागरिकता आउनेबेला उनले श्रीमतीसँग रु एक हजार मागेर लागे ।ती दम्पतीले नागरिकता बनेपछि आफूसँग भारत जाने बाटो खर्च नभएको भन्दै मितभाइलाई गुहारेपछि यस्तो पोल खुलेको हो । उनका मितभाइ देवराम गिरीले गाविस सचिवले बाटो खर्चबापतको रकम घुस लिएपछि दाजुहरु समस्यामा परेको भन्दै पत्रकारलाई गुहारेका थिए । “भारत जान भाडा पुगेन भनेर दाजु भाउजूले फोन गर्नुभयो, बुझ्दै जाँदा गाविस सचिवले बाटा खर्च खाइदिएछन्” उनले बताए ।
पत्रकार बोलाएपछि सचिव पोखरेलले घुसबापतको रु एक हजार फिर्ता मागेमा नागरिकता जफत गरीदिने धम्की दिएको लोकमायाले बताए । “सचिवले यति दुःख गरेर बनाइयो, अलिअलि चियापानी त हाम्लाई पनि चाहियो नि भन्नुयभो”, लोकमायाले भने “हतार थियो, दियौँ, अहिले पैसा फिर्ता मागे नागरिकता जफत हुन्छ भन्नुभएको छ ।”
गाविस सचिव पोखरेलले पनि रकम लिएको स्वीकार गरेका छन् । गोरखा माइत भएकी लोकमायाका कागजपत्र मगाउन र प्रशासनमा कर्मचारीलाई कागजपत्र मिलाउनका लागि आफू पुल बनेर पैसा लिएको उनको भनाइ थियो ।
“उहाँहरु चार÷पाँच दिनदेखि सदरमुकाम बस्नुभएको छ, छिटो काम गराउनका लागि मैले पनि प्रशासनमा खर्च बुझाउनु पर्छ । केही रकम गोरखाबाट फ्याक्स मगाउँदा खर्च भयो” भन्दै उनले यसरी आफ्नो सफाइ दिए ।