आज वसन्तपञ्चमी अर्थात सरस्वतीको पूजा
काठमाण्डौं,२१ माघ । आज वसन्तपञ्चमी अर्थात सरस्वतीपूजा । आज देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गरी श्रीपञ्चमी पर्व मनाईंदैछ । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु सुरु हुने भएकाले आजको दिनलाई वसन्तपञ्चमी पनि भनिन्छ । ससाना बालबालिकालाई अक्षरारम्भ अर्थात विद्यारम्भको रूपमा लिइने यस अवसरमा नेवार समुदायले स्वयम्भूको आनन्दकुटी विहारसँगै रहेको गुरु महामन्जुश्रीको पूजा आराधना गर्ने गर्दछ भने गैर नेवार समुदायले महामन्जुश्रीलाई विद्यादान गर्ने देवीका रूपमा सरस्वतीको पूजा गर्ने प्रचलन छ ।महामन्जुश्रीलाई नेवार समुदायले ससुमाँजूको रूपमा पनि सम्बोधन गर्ने गरिन्छ । श्रीपञ्चमीका दिन हिन्दू तथा बौध्दधर्मावलम्बी विशेष गरी छात्रछात्राको स्वयम्भूमा ठूलो घुइँचो लाग्छ ।
संस्कृतिविद् डा चुन्दा वज्राचार्यका अनुसार नेवार समुदायमा श्रीपञ्चमीको दिन महामन्जुश्री तिब्बतबाट नेपाल आउने भएकाले उनलाई थकाई मार्न बेलुका भक्तजनले उनको शरीरमा खानेतेल घसिदिने परम्परा छ ।श्रीपन्चमीका दिन विवाह, व्रतबन्ध, बाह्राः र इही जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने जनविश्वास रहेको छ ।
स्वयम्भू पुरानअनुसार उपत्यका उत्पत्तिसँग जोडिएको महामन्जुश्रीको कथामा महामन्जुश्रीले आफ्नो खड्गले प्रहार गरी उपत्यकाका ठूल्ठूला पहाड फुटाएर पानीले भरिएको काठमाडौँ उपत्यकामा निकास खोली पानी बाहिर पठाई मानव वस्ती बसालेको उल्लेख रहेको डा वज्राचार्यको भनाई छ ।
आजकै दिनदेखि होली पर्व सुरु हुने र ऋतु परिवर्तन हुन्छ भन्ने धार्मिक मान्यता पनि रहेको छ ।
हिन्दू शास्त्रअनुसार ऋग्वेदमा वागदेवीका नामले प्रसिद्धि पाएकी ब्रहृमायणीको पूजोपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजा गर्ने चलन रहेको छ ।
गान्धर्व पुराणमा सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी सरस्वतीलाई भारती, शारदा, हंसबाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रहृमचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पनि पुकारिन्छ ।साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा तथा तान्त्रिकहरू तन्त्रसिद्धिका लागि तारादेवीका रूपमा सरस्वतीको आराधना गर्छन् ।
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ भनिएको हो ।
काठमाडौँ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित मञ्जुश्री, नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा पूजाआजा गर्न मानिसको घुइँचो लाग्ने गर्छ ।सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।