बागमतीमा फोहर गर्दा प्रहरीको फन्दा
काठमाडौं , २२ माघ :बागमती नदी सरसफाइ अभियान चलिरहेका बेला तिलगंगा आँखा अस्पतालले नदी किनारमा फोहोर फालिरर्यो । सूचना पाएपछि काठमाडौं महानगरपालिकाले अस्पतालका कर्मचारी पक्राउ गर्यो र ३ हजार रुपैयाँ जरिबाना गर्यो । सिनामंगलकी शोभा खड्का चिया पसलमा भाँडा माझेको पानी नदीमा फाल्थिन । महानगरपालिकाले एक हजार पाँच सय रुपैयाँ जरिबाना तिराएपछि उनले फोहोर मिसाउन छोडिन् ।
सिन्धुपाल्चोक साँगाचोकका गिरी थरका २७ वर्षका एक युवकले तीनकुनेमा बागमती नदीमै पिसाब गरे । प्रहरीले उनलाई पक्राउ गर्यो । नदीमा फोहोर नगर्ने निवेदनसहित बिलबुक र लाइसेन्सको फोटोकपी छोडेर उनी छुटे ।
बागमतीमा फोहोर गर्नेलाई सरकारले कारबाही गरिरहेको छ । अभियानको ४० सातासम्म महानगरपालिकाले ११ जनालाई कारबाही गरी ७८ हजार रुपैयाँ जरिबाना असुलेको अन्नपूर्ण पोस्टमा खबर छ । फोहोर गरेबापत कार्यालय तथा सर्वसाधारणले पाँच सयदेखि ३० हजार रुपैयाँसम्म जरिबाना तिरेका छन् । फोहोरमैला व्यवास्थापन ऐन २०६८ मा नदीमा फोहोर गर्नेलाई पाँचसयदेखि एक लाख रुपैयाँ वा तीन महिना कैद वा दुवै सजाय हुने उल्लेख छ ।