मध्य तथा सुदूरपश्चिमाञ्चल लोक नाटक उत्सव सुरु
काठमाडौँ ,२७ माघ । दुईदिने मध्य तथा सुदूरपश्चिमाञ्चल लोक नाटक उत्सव दाङको घोराहीमा सुरु भएको छ ।साहित्यभित्रको महत्वपुर्ण विधा लोकनाटक लोप हुँदै गएपछि त्यसको जगेर्ना गर्ने र सम्वद्र्धन गर्ने उद्देश्यले लोक नाटक उत्सवको आयोजना गरिएको हो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौको आयोजना तथा नेपाल म्युजिक सेन्टर काठमाडौको सह आयोजना र माछा पुच्छ्रे बैंकको विषेश सहयोगमा हुने उत्सवमा थारु, मगर, नेवार र खस समुदायमा प्रचलित लोपोन्मुख लोकनाटकहरु प्रर्दशन गरिने छ ।
उत्सवमा मध्य तथा सूदुरपश्चिमाञ्चलका १२ वटा प्रतियोगि र ५ वटा अप्रतियोगि लोक नाटकहरु प्रस्तुत गरिने नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तिर्थबहादुर थापाले जानकारी दिए । आज पहिलो दिन प्रतियोगिकोरुपमा ज्यो मारे दाङ, राजा हरिशचन्द्र, ज्यो मारे रोल्पा, हनुमान चरित्र, डाम्फ्या स्याई र वयल डाँरी लोकनाटक प्रस्तुत गरिने छ भने अप्रतियोगिकोरुपमा वर्का नाँच र सरङया प्रस्तुत गरिने भएको छ ।
त्यस्तै भोली सोरठी, कठघोरी, नागा, गौरा र हन्ना लोक नाटकहरु प्रतियोगिकोरुपमा प्रस्तुत गरिने भएको छ भने हुड्केली, सख्या पैयाँ र संस्कृत नाटक अप्रतियोगिकोरुपमा प्रस्तुत गरिने आयोजक समितिले जानकारी दिएको छ । करिब ३ सय कलाकारहरु उत्सवमा सहभागि हुने र ७ लाख ७० हजार रुपैयाँ अनुमानित खर्च हुने लोक नाटक उत्सव मूल समितिका सदस्य नित्यानन्द शर्माले जानकारी दिए ।