बागमती स्वच्छ पार्न जापानी सहयोग
काठमाडौं ,२८ माघ। बागमती नदी स्वच्छ बनाउन जापान सरकारले नेपाललाई एक करोड ४५ लाख २४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।जापानको एक गैरसरकारी संस्था ‘वातावरण तथा शिक्षामा संस्थामार्फत आपसी सहयोग समाज’ मार्फत कार्यान्वयन हुने गरी जापान सरकारले बागमती नदीको प्रदूषण नियन्त्रणका लागि सहयोग गरेको हो ।
एक वर्षे कार्यावधि रहेको सो परियोजना नेपालको आधारभूत आवश्यकता परिचालन समाज नामक गैरसरकारी संस्थाको साझेदारीमा कार्यान्वयन गरिनेछ । परियोजना कार्यान्वयनका लागि जापानी संस्थाले आर्थिक तथा प्राविधिक सहयोग गर्नेछ ।
नमूना परियोजनाका रूपमा गोकर्णदेखि गह्रेश्वरीसम्मको नदी परिसरमा कार्यक्रम सञ्चालन गरिने छ । जसअन्तर्गत पहिलो चरणमा नदी आसपासका स्थानीय समुदायमा वातावरणीय शिक्षा प्रदानका लागि तालिम सञ्चालन गरिनुको साथै नदीमा प्रदूषण नियन्त्रणका लागि पूर्वाधार निर्माणार्थ ‘रिढ बेड प्लान’ सञ्चालन गरिनेछ ।जापानी दूतावासले सोमबार एक कार्यक्रमको आयोजना गरी परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता पत्रमा नेपालका लागि जापानी राजदूत मासासी ओगवा र जापानी गैरसरकारी संस्थाका निर्देशक नोवौकी वाडाले हस्ताक्षर गरेका छन् ।