विमान दुर्घटनामा मृत्यु भएको शव आफन्तलाई बुझाइँदै

२०७० फाल्गुन ६ गते, मंगलवार


काठमाडौ, ६ फागुन । नेपाल वायु सेवा निगमको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव आज आफन्तलाई बुझाइने भएको छ ।त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोष्टमार्टमपछि आज आफन्तलाई बुझाइने छ । जहाज दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव हिजो काठमाडौ ल्याइएको थियो । शव बुझेपछि केहीलाई जुम्ला लगिने र केहीको पशुपति आर्यघाटमा दाहसस्कार गरिने आफन्तले जानकारी दिएका छन् ।
दुर्घटनास्थल अर्घाखाँचीको मसिनेलेकमा जहाजको ब्ल्याक बक्ससमेत भेटिएको नेपाली सेनाले जनाएको छ । दुर्घटनामा परी नेपाली सेनाका मेजर दीपक श्रेष्ठ, काङ्ग्रेस जुम्ला सभापति मानव सेजुवाल, वर्षा हमाल, सहिस हमाल, दिवेश शाही, मुना महर्जन र राजेन्द्र चौलागाईंको निधन भएको छ ।
यसैगरी सामुदायिक रेडियो नारी आवाजका अध्यक्ष तथा पत्रकार महासंघकी पूर्व केन्द्रीय सदस्य गौरी कठायत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. विकल्प पोखरेल र कृषि विकास बैंक जुम्लाका म्यानेजर राजेन्द्र देवकोटा पनि निधन भएको छ ।
मृत्यु हुनेहरूमा जिल्ला हुलाक कार्यालय जुम्लाका निमित्त प्रमुख उमा तामाङ, शिक्षक टेक महतारा र उहाँका श्रीमती नन्दा महतारा, अर्का शिक्षक कृष्णनाथ योगी, राजी चौलागाई उहाँका भान्जा दीपेश शाही तथा स्थानीय विपी उपाध्याय र एक जना डेनिस नागरिक एस म्याथिसिन रहेको वायुसेवा निगमले जनाएको छ ।
यसैबीच नेपाल नागरिक उड्ययन प्राधिकरणका पूव अध्यक्ष त्रिरत्न मानन्धरको अध्यक्षतामा जाँचबुझ आयोगले पनि अनुसन्धान थाल्ने तयारी गरेको छ । आयोगलाई दुई महिनाभित्रमा अध्ययन प्रतिवेदन पेश गर्न भनिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु