भोलि शिवरात्री, सबै तयारी पुरा

२०७० फाल्गुन १४ गते, बुधबार

काठमाडौं, १४ फागुन। पशुपति क्षेत्र विकास कोषले भोलिको शिवरात्रीको लागि पशुपतिमा आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । कोषका अनुसार यसवर्ष ७ लाख दर्शनार्थीले पशुपतिमा दर्शन गर्ने अनुमान छ । दर्शनार्थीलाई सहज रुपमा मन्दिर प्रवेश गरी दर्शन गर्नको लागि आवश्यक सबै व्यवस्था मिलाइएको कोषका सदस्य सचिव गोविन्द टण्डनले जानकारी दिए । उनका अनुसार ७ लाख दर्शनार्थीमध्ये ३ लाखले मन्दिर भित्रै गएर दर्शन गर्ने र अरु ४ लाखले मन्दिर बाहिरबाटै दर्शन गर्ने अनुमान गरिएको छ । सहज रुपमा दर्शन गर्नका लागि भन्दै चारवटा लाइनको व्यवस्था गरिएको छ ।
यस्तै लाइनमा नबसी दर्शन गर्न चाहनेहरुका लागि पोहोरजस्तै यसवर्ष पनि १ हजार रुपैयाँको टिकटको व्यवस्था गरिएको कोषले जनाएको छ । अरु दर्शनार्थीका लागि उमाकुण्ड, गौशाला हुँदै पिंगलास्थानबाट पञ्चदेवल हुँदै, दक्षिण र पूर्वबाट लाइन मिलाइएको छ । लाइनमा बसेको एकघण्टा भित्रै दर्शन गर्न सक्नेगरी व्यवस्था मिलाइएको कोषले जनाएको छ । मन्दिर दर्शनका लागि भोलि विहान साढे ३ बजे नै पशुपतिको पश्चिमतर्फको ढोका खुला गर्ने र भिड बढ्दै गएपछि साढे ९ बजे पछि ४ वटै ढोका खुला गर्ने तयारी छ । पशुपतिमा पुग्ने दर्शनार्थीको सेवा सुविधाका लागि ठाउँ/ठाउँमा स्वास्थ्य शिविर र तयारी अवस्थामा एम्बुलेन्स राखिनेछ । सुरक्षाका लागि ४ हजार प्रहरी र त्यति नै संख्यामा स्वयंसेवक खटिँदैछन् ।
यसैबिच , शिवरात्री नजिकिएसँगै पशुपति क्षेत्रमा साधुबाबाहरुको चहलपहल बढ्न थालेको छ । भोलिको शिवरात्रीको लागि देश भित्रका बिभिन्न ठाउँ र भारतबाट समेत साधुबाबाहरु पशुपति आएका छन् । उनीहरु पशुपति मन्दिर आसपास र पारीपट्टिको श्लेसमान्तक वनमा अड्डा जमाएर बसिसकेका छन् ।
धेरैजसो साधुबाबा आइसकेका र अरु पनि आउँदै गरेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ । ‘यसवर्ष पनि पोहोरजस्तै झण्डै तीन हजार संख्यामा साधुबाबाहरु पशुपति आउने अनुमान गरिएको छ’ कोषका निर्देशक रमेश उप्रेतीले बताए ।
शिवरात्रीमा आउने साधुबाबाहरु पन थरीथरीका हुन्छन् । वर्ग र सम्प्रदायको आधारमा उनीहरुलाई नागाबाबा, वैरागी, अघोरी, नाथ, गिरीपुरी सन्यासी, परमहंस लगायतमा वर्गीकरण गरिन्छ । यसमा पनि शिवरात्रीको बेला नागाबाबालाई विशेष सत्कार गरिन्छ । उनीहरुको लागि खाने बस्ने छुट्टै व्यवस्था हुन्छ । कोषका अनुसार यस्ता नागाबाबाको संख्या ७० देखि ८० को हाराहारीमा हुन्छ ।
शिवरात्रीमा यसरी आउने साधुबाबाहरुलाई सरकारले नै खानापानी व्यवस्था गर्छ । धुनी बाल्नको लागि दाउरा पनि सरकारी नै हुन्छ । अरु संघसंस्थाले पनि उनीहरुलाई खाना र दानदक्षिणा उपलव्ध गराउँछन् । अरुबेला भन्दा दान दक्षिणा धेरै पाइने भएकाले मगन्तेहरु समेत साधुबाबाको भेषमा पशुपति पुग्ने गर्छन् ।
‘मगन्तेहरु पनि हुन्छन्’ उप्रेतीले भने , ‘उनीहरुलाई रोक्न सकिंदैन ।’ मगन्तेहरुले त मौकाको फाइदा उठाउँछन् नै । साधुबाबासँग गाँजा चरेश मागेर खान पशुपतिमा युवाहरुको पनि उत्तिकै भिड लाग्ने गर्छ । यसको नियन्त्रणको लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु