आज घ्याल्पो ल्होसार

२०७० फाल्गुन १८ गते, आईतवार


काठमाडौं ,१८ फागुन। शेर्पा समुदायको नयाँ बर्ष ग्याल्बो ल्होसार आजबाट सुरु भएको छ । नेपालको उच्च पहाडी र हिमाली भेगमा बसोबास गर्ने शेर्पा, लामा र भोटे समुदायले ग्याल्बो ल्होसार नयाँ बर्षका रुपमा विशेष खुशीका साथ मनाउने गर्दछन् । यो पर्व कहिलेदेखि मनाउन थालिएको यकिनका साथ भन्न नसकिए पनि ‘लो’ भनेको वर्ष तथा ‘सार’को अर्थ नयाँ हो । यस वर्ष उनीहरूले सर्प वर्षलाई बिदा गरी घोडा वर्षलाई स्वागत गर्छन् । हिमाली क्षेत्रका मानिसले सो पर्वमा अग्ला डाँडामा ध्वजापताका फहराउने चलनसमेत छ ।
सो समुदायले यस पर्वलाई तीन दिनसम्म विशेष महत्व दिएर मनाउने गर्छन् । शेर्पा समुदायले बुद्ध धर्ममा विश्वास राख्ने हुनाले पहिलो दिन बिहान उठेर घरमा पूजापाठ गरी र गुम्बामा गई गुरुको दर्शन तथा आशीर्वाद लिन्छन्, जसलाई लामा ‘ल्होसार’ भनिन्छ ।
दोस्रो दिन पारिवारिक जमघट तथा आफन्तसँग भेटघाट गरी मीठा मीठा परिकार पकाएर भोज खाने गरिन्छ जसलाई ‘परिवार ल्होसार’ भनिन्छ । उनीहरूले विशेषगरी जाँड, रक्सी मासु, पुलाउ, गेडागुडीलगायत खाने गर्छन् ।
तेस्रो दिन उनीहरू बुद्ध धर्मलाई रक्षा गर्ने विभिन्न धर्मपाल (भैरव, महाकाल आदि) को पूजा गर्छन् जसलाई ‘धर्मपाल ल्होसार’ भनिन्छ ।
बौद्ध ग्रन्थका अनुवादक टीका शेर्पा नयाँ सोच तथा दृष्टिकोणको विकास गरी समाजमा आफूलाई सकारात्मक रूपमा अगाडि बढाउन सो पर्व शेर्पा समुदायका लागि ठूलो उत्सव भएको बताउनुहुन्छ । सोलुखुम्बु, दोलखा, रामेछाप, सङ्खुवासभा, मुगुलगायत स्थानमा शेर्पाको बसोवास छ । नेपालको उनीहरू करिब पाँच लाखको सङ्ख्यामा रहेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु