सवारी जाम हटाउन वैकल्पिक मार्ग
काठमाडौँ ,२१ फागुन । ट्राफिक प्रहरीले नौविसे-नागढुङ्गा सडकखण्डमा भइरहेको सवारी जाम कम गराउन साना सवारीसाधनलाई नुवाकोटको पिपलटार, ककनी हुँदै राजधानी पठाउन थालेको छ ।सडक ममर्तको कारण घण्टौँसम्म हुने सवारी जामलाई कम गराउन विकल्पका रुपमा नुवाकोटको सडक हुँदै सवारीसाधनलाई राजधानी पठाउन थालिएको हो । पृथ्वी राजमार्गमा पर्ने धादिङको गल्छीबाट पासाङल्हामु मार्गअन्तर्गत पर्ने नुवाकोटको देवीघाट, पिपलटार-ककनी हुँदै काठमाडौँको बालाजुसम्मको सडकलाई विकल्पका रुपमा प्रयोग गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।रुट परिवर्तन गरेसँगै वैकल्पिक मार्गका रुपमा सञ्चालनमा ल्याइएको पासाङल्हामु मार्गमा सवारी चाप बढेको छ । नुवाकोट हुँदै राजधानी जोडिएको सडक साँघुरो भएकाले साना सवारीसाधनलाई मात्र यो रुट प्रयोग गर्न दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
यसैगरी धार्केबाट आचार्यपोखरी हुँदै सीतापाइला निस्कने गरी पनि केही सवारीलाई व्यवस्थापन गर्न थालिएको छ । हलुका सवारीसाधनलाई यस बाटो प्रयोग गराउन थालिएको हो ।