आजबाट व्यवसायिक प्रयोजनमा नीलो सिलिण्डर अनिवार्य

२०७० फाल्गुन २५ गते, आईतवार

काठमाडौं, २५ फाल्गुन । नेपाल आयल निगमले आजदेखि व्यवसायिक प्रयोजनका लागि नीलो रङका सिलिन्डर अनिवार्य गरेको छ । व्यवसायिक प्रयोजनमा प्रयोग हुने ग्यासको तथ्याङ्क निकाल्न नीलो रङका सिलिन्डर अनिवार्य गरेको निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । सरकारले फरक-फरक मूल्यमा घरायसी प्रयोजनका लागि रातो र व्यवसायिक प्रयोजनका लागि भनेर नीलो रङका सिलिन्डर कार्यान्वयनमा ल्याउने अवधारणा बनाएको छ । ग्यास आयातमा भइरहेको बढ्दो घाटा कम गर्न नीलो रङका सिलिन्डर अनिवार्य गर्न लागिएको प्रवक्ता घिमिरेको भनाइ छ । आजदेखि निलो रङका सिन्डिर लागू गरे पनि मूल्य भने तत्कालका लागि रातो सिलिन्डर अनुसारकै रहने घिमिरेले बताए । व्यवसायिक प्रयोजनमा कति ग्यास खपत हुन्छ भनेर तथ्याङ्क निकाल्नका लागि मात्रै अहिले निलो सिलिन्डर लागू गर्न लागिएकाले दोहोरो मूल्य तत्काल लागू नगरिएको हो । निगमले मासिक झण्डै १५ लाख खपत हुने ग्यासमध्ये २५ देखि ३० प्रतिशत व्यवसायिक प्रयोजनमा खपत हुने गरेको अनुमान गरेको छ । नीलो सिलिन्डर अनिवार्य गरेपछि सबै ठाउँमा पुगे /नपुगेका बारे निगमले अनुगमन गर्ने तयारी गरेको छ । ग्यासमा निगमलाई मासिक १ अर्ब २९ करोड रूपैयाँ घाटा रहेको प्रवक्ता घिमिरेले बताए । नीलो सिलिन्डर लागू गर्ने निगमको प्रयास सकारात्मक भए पनि कम तौलका सिलिन्डरको कारोबार गर्नेविरुद्ध कडा कारबाही नभएसम्म प्रभावकारी नहुने ग्यास बिक्रेता महासंघले बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु