भगाएको केटी फिर्ता गर्न बजार बन्द
काठमाडौं, ३०फाल्गुन । हिन्दु युवतीलाई मुस्लिम समुदायका युवाले भगाएको भन्दै दुई दिनदेखी सुनसरीको दुहबी बजार बन्द भएको छ । झण्डै एक महिना अघि दुहवीका मोसिम मियाँले प्रेमिका अमृता शाहसँग विवाह गरेका थिए । मियाँ र शाहले विवाह गरेलगत्तै दुवै परिवारबीच पटक पटक छलफल भएपछि केटा पक्ष केटी फर्काउन सहमत भएपनि अहिलेसम्म नफर्काएको भन्दै केटी पक्षले बजार बन्द गराएको हो ।बन्दका कारण दुहबी बजार पूर्ण रुपमा ठप्प भएको छ । केटी फिर्ता नभएसम्म बजार नखुल्ने स्थानीय रञ्जित गोस्वामीले बताए । केटीकी आमा सञ्जीता शाह हलुवाईले आफ्नो छोरीलाई भारत लगिएको भन्दै फिर्ता गराउन स्थानीय प्रशासनसँग माग गरेका छन् ।झगडा मिलाउन केटा र केटीलाई ल्याउने सहमति भए पनि प्रहरीले केटा र केटीलाई झिकाएर सोनापुरको गाउँमा लुकाएर कानुनी विवाह गरिदिएपछि केटी पक्षका हिन्दु समुदाय र केटा पक्षका मुस्लिम समुदायबीचको विवाद बढेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।
फागुन ७ गते दुहबीबाट हिँडेका उनीहरु भारतको मदरासमा फेला परेको प्रहरीले जनाएको छ ।
केटा पक्ष र केटी पक्ष दुवैले मदरासमा पुगेर पटक पटक फर्काउने प्रयास गरेको भएप्नि केटा केटीले नमानेको र पछि आएर अदालतमा नाता कायमको मुद्दा हालेको ईलाका प्रहरी कार्यलय दुहवीका प्रहरी निरीक्षक दिलिपकुमार गिरीले बताए ।उनीहरुले यही फागुन २५ गते नाता कायम गरी पाउँ भन्दै निबेदन दिएको र जिल्ला अदालत सुनसरीका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलाशले मिलापत्र गराएको देखिएकाले अदालतले निर्णय गरिसकेको विषयमा आफू बोल्न नमिल्ने गिरीको भनाइ छ ।यही विषयमा शुक्रबार केटा र केटीका आफन्तबीच प्रहरीको रोहवरमा फलफल हुदैछ ।