सडक मर्मतमा ढिलाई गरेपछि ठेकेदारलाई कारबाही

२०७० चैत्र ३ गते, सोमबार

काठमाडौ, ३ चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नौबिसे–नागढुंगा सडक मर्मतमा ढिलाई गरेपछि ठेकेदार कम्पनी विरुद्ध कारवाही प्रक्रिया अघि बढाएको छ ।सडक मर्मतको काम निकै सुस्त गतिमा हुँदा नागढुंगा नाकामा आवतजावत नै प्रभावित भएपछि कारवाही प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका सचिव तुलसी सिटौलाले ठेकेदारको लापरवाही देखिएकाले उनीहरुको बैंक ग्यारेन्टी खोसेको जानकारी दिए । ठेकेदार कम्पनी महादेव खिम्ती–मिचिकोलाई तत्काल काम अघि नबढाए सम्झौता रद्ध हुने चेतावनी दिइएको उहाँले बताए । केही दिनभित्रै ठेकेदार कम्पनीले काम अघि नबढाए वैकल्पिक व्यवस्था गरेर काम अघि बढाउने सिटौलाको भनाई छ ।मन्त्रालय चैत मसान्त सम्ममा नौबिसे–नागढुंगा सडकको मर्मत पूरा गर्न प्रतिबद्ध रहेकाले अहिलेकै ठेकेदारले वा वैकल्पिक व्यवस्था गरेर पनि काम पूरा गरिछाड्ने उनले दावी गरे ।
नौबिसे–नागढुंगा सडक मर्मतको काम गर्न सरकारले झण्डै ६ करोड रुपैयाँमा ठेक्का दिएको थियो । फागुन १ गतेदेखि १५ गते सम्म रातीमा सडक बन्द गरेर डाईभर्सन सडक बनाउन दुई सय मिटर क्षेत्रमा भित्ता खनिएयता सडक मर्मतको काम अहिले पूरै रोकिएको छ ।भित्ता खन्दा निस्किएको माटोको उचित व्यवस्थापन हुन नसक्दा पानी पर्दा हिलो भएर गाडी भासिने र चिप्लिने तथा घाम लाग्दा धुलो उडेर हिंड्नै समस्या हुने गरेको छ । नौबिसे–नागढुंगा सडक अन्तर्गत १ हजार ७० मिटर क्षेत्रमा मर्मतको काम गर्नुपर्नेमा अहिले झण्डै ३ सय ५० मिटरमा मात्रै ढलानको काम सकिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु