आज विश्व सत्य दिवस
काठमाडौं, १० चैत्र । आज विश्वभर अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवस मनाइदै छ । यो दिवस प्रत्येक वर्ष मार्च २४ का दिन मनाइने गरिन्छ । यस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम हुँदैछन् । चार वर्षदेखि अन्तर्राष्ट्रियस्तरमा यो दिवस मनाउन थालिएपनि नेपालमा भने दुई वर्षयता मनाउन थालिएको हो ।
सत्यको अधिकार भन्नाले घटित घटना, यस्ता घटना भएको परिस्थिति र त्यसमा संलग्न व्यक्तिका बारेमा सबै सत्य तथ्य थाहा पाउनुलाई मानिन्छ । नेपालको दशवर्षे हिंसात्मक द्वन्द्वमा करीब १७ हजार नागरिक मारिएका छन् । वेपता पारिएका करीब १४ सय नागरिकको अवस्था अझै अज्ञात छ ।
हजारौ मानिस अंगभंग पारिएका छन् । ८० हजारभन्दा बढी व्यक्ति आफ्नो थातथलोबाट विस्थापित भएका थिए । तर त्यस्ता पीडितले अझै न्याय नपाएका सन्दर्भमा द्वन्द्वपीडित नागरिक र मानवअधिकारकर्मीहरुले निष्पक्ष छानबीन गरी सत्य स्थापित गर्न वर्षौदेखि माग गर्दै आएका छन् ।
सशस्त्र द्वन्द्वमा रहेको दल माओवादी शान्तिपूर्ण राजनीतिमा आएको सात वर्ष हुँदा पनि अझै सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबीन आयोग बन्न सकेको छैन ।