कुशेश्वर महादेव परिसरमा मार्कण्डेय पुराण
काठमाडौं , १६ चैत्र । रोशीखोलाको दोभान र सुनकोशी नदीको किनारमा अवस्थित पुरातात्विक एवं धार्मिक महत्वको ऐतिहासिक आदिलिङ्ग कुशेश्वर महादेव परिसरमा आज देखि मार्कण्डेय पुराण (देवी भागवत) सञ्चालन हुने भएको छ ।
कुशेश्वर महादेव मन्दिर क्षेत्रको दीर्घकालीन विकास, गुरुकुल विद्यालय सञ्चालन र धार्मिक एवं साँस्कृतिक पर्यटनको विकासका लागि आयोजना गर्न लागिएका मार्कण्डेय पुराणकै अवसर पारेर धार्मिक स्थल कुशेश्वर दुम्जामा चैत १७ गतेदेखि कुशेश्वर कुम्भ मेलासमेत सञ्चालन हुने र सो मेला २०७१ साल बैशाख १९ गतेसम्म (२०७० चैत शुक्ल प्रतिपदादेखि २०७१ वैशाख शुक्ल तृतीया) सञ्चालन गरिने तथा मार्कण्डेय पुराणकै अवसरमा चैत २१ गते सामुहिक ब्रतबन्ध पनि गराइने जानकारी गराईने आयोजकले बताएका छन् ।
हिमवत्खण्डका अनुसार, मार्कण्डेय तथा विश्वामित्र ऋषिले तपश्या गरेको स्थल कुशेश्वर महादेव मन्दिर भएकाले सोही क्षेत्रमा नै देवी दुर्गाले शुम्भनिशुम्भ दानवको वध गरेको किंवदन्ती रहेकोले सुनकोशी र रोशीखोलाको संगमस्थललाई दुर्गातीर्थ भनिन्छ ।
हिमवत्खण्डमा उल्लेख भएअनुसार, विश्वसृष्टिका लागि ब्रम्हाले तपस्या गरेपछि उत्पत्ति भएको शिवलिङ्ग नै कुशेश्वर महादेव हुन् । त्यसैले नै कुशेश्वर महादेवलाई हिमवत्खण्डमा आदिलिङ्ग भनिएको छ ।सो मेला मार्फत धार्मीक पर्यटनमा समेत टेवा पुग्ने आयोजकहरुले विश्वास लिएका छन् ।