आजबाट कुम्भ मेला
काठमाडौं,१७ चैत्र । सुनसरीको बराहक्षेत्रस्थित चतराधाममा आजदेखि दोश्रो कुम्भ मेला शुरु हुँदैछ । आज दिउँसो प्रधानमन्त्री सुशील कोइरालाले मेला उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कुम्भ मेलामा आउने आगन्तुकका लागि आवास, खानेपानी, मन्दिर, संचार लगायतका भौतिक पूर्वाधारको निर्माण भईसकेको आयोजकले जनाएका छन् ।सरकारले पनि चतरासम्म पुग्ने बाटो मर्मत गरेको छ भने मेला सफल पार्न ५० लाख आर्थिक सहयोग गरेको छ । नेपाल सरकारले पूर्वाञ्चल क्षेत्रीय प्रशासक शंकर अधिकारीलाई मेलाको सुरक्षाको व्यबस्थापन गर्ने जिम्मेवारी दिएको छ ।
मेलाको अवसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी एक हजार ३ सय सुरक्षाकर्मी चतराधाममा परिचालन गरिएको छ । कुम्भ मेला अवधिभर सप्तकोशी नदीमा स्नान गर्नाले पापबाट मुक्त भई पुण्य मिल्ने विश्वास रहिआएको छ ।
मेलामा नेपाल र भारतको साथै तेस्रो मुलुकका एक करोड बढी हिन्दू धर्मावलम्बीले सहभागिता जनाउने बताइएको छ । भारतको उत्तर प्रदेशस्थित इलाहावाद, मध्यप्रदेशस्थित उज्जैन, महाराष्ट्रस्थित नासिक र उत्तराखण्डस्थित हरिद्धारमा उक्त मेला सयौं बर्ष अगाडिदेखि लाग्दै आएको छ । एक महिनासम्म चल्ने मेला बैशाख १९ गते सम्पन्न हुनेछ ।