बाढीको पूर्वसूचना दिन स्वचालित मेसिन सञ्चालन
काठमाडौं ,१८ चैत । बाढी आउन लागेको पूर्वसूचना प्रदान गर्नका लागि कञ्चनपुरमा अत्याधुनिक मा ल्याइएको छ ।
नदीको बहाव पत्ता लगाई विपद्बाट हुने जोखिम न्यूनीकरण गर्न मेसिन सञ्चालनमा ल्याइएको हो । महाकाली र मछेली नदीमा बाढी आउन लागेको पूर्वसूचनाका लागि डडेल्धुराको सहजपुर, जोगबुढा र दार्चुलाको दत्तुमा स्वचालित मेसिन राखिएको हो ।
नदीको माथिल्लो सतहमा राखिएका उपकरणले नदीमा पानीको बहावको अवस्था के छ भन्नेबारे बारम्बार कञ्चनपुरको महेन्द्रनगरमा रहेको जिल्ला आपत्कालीन केन्द्रमा जडान गरिएको मेसिनमा सन्देश पठाउने छ ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको युनिटले मेसिनले दिने सूचनामा २४ सैँ घण्टा निगरानी राखी नदीको पानीको सतह जोखिम बिन्दुमा पुग्न थालेपछि महाकाली र मछेली नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जानका लागि सूचना जारी गर्ने व्यवस्था गरिएको शाखाका कोषाध्यक्ष थिरेन्द्रचन्द्र भट्टले बताए ।
मर्सिकोर, युएनडिपी र नेपाल रेडक्रस सोसाइटी शाखा महेन्द्रनगरको सहयोगमा आपत्कालीन कक्ष र मेसिनमा गरी रु ५० लाख खर्च लागेको उनले बताए ।
यसैगरी यहाँका सहायक स्याली, सुनवरा, चौधर, बनहरालगायतका नदीहरुमा नदीको बहाव नाप्नका लागि रेनगेजको व्यवस्था गरिएको छ । रेनगेजका आधारमा खतरा बिन्दुभन्दा बढी पानीको बहाव पुगेमा स्थानीय गठित उद्धार दलहरुलाई सतर्कता अवस्था राख्ने र उद्धारको आवश्यकता पर्ने भए आपत्कालीन उद्धारकक्षमा एसएमएसमार्फत सूचना प्रवाह गरी टोली परिचालन गर्ने व्यवस्था गरिएको छ ।
सुरक्षित स्थानमा सर्वसाधारणलाई जानका लागि सायरन बजाउने व्यवस्थासमेत गरिएको बताइएको छ । रेडक्रस शाखा कार्यालयका अनुसार पाँच वर्षको अवधिमा कञ्चनपुरमा बाढीकै कारणले २४ जनाले ज्यान गुमाइसकेका छन् । सोही अवधिमा बाढीबाट सात हजार २२ परिवार प्रभावित भएका थिए । रासस
– See more at: http://www.onlinekhabar.com/2014/04/183105/#sthash.rfYVEEou.dpuf