लाइसेन्सलिदा ट्राफिकको कक्षा अनिबार्य

२०७० चैत्र १९ गते, बुधबार


काठमाडौ, १९ चैत । वागमती अञ्चलबाट नयाँ सवारी लाइसेन्स लिने प्रक्रियामा हुनुहुन्छ भने अब परीक्षा र ट्रायल पास गरेर मात्र पुग्दैन । ट्राफिक प्रहरीको कक्षामा पनि सहभागी हुनुपर्छ । लिखित परीक्षा पास गरेर ट्रायल दिनुभन्दा पहिले तपाईंलाई ट्राफिक प्रहरीले जनचेतनामुलक कक्षामा सहभागी गराउँछ । यस्तो कक्षा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर गाडी चलाएर कारबाहीमा परेकाहरुका लागि मात्र सञ्चालन गर्ने गर्थ्यो ।
लाइसेन्स लिनुअघिको कक्षामा सडक दुर्घटनाको अवस्था, ट्राफिक नियमको महत्व, गाडी चलाउने र सडक प्रयोग गर्ने सही तरिका लगायतका विषयमा श्रव्यदृश्य सामग्री सहित झण्डै डेढघण्टा प्रशिक्षण दिइन्छ । ‘सडक सभ्यता विरुद्धका गतिबिधि तथा दुर्घटना नियन्त्रण गर्ने उद्धेश्यले यस्तो कक्षा सुरु गरिएको हो’ महानगरीय ट्राफिक प्रहरी महाशाखा अन्तर्गतको जनचेतना कक्षका ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र पोखरेलले बताए । गएको फागुन १९ गतदेखि सुरु भएको यस्तो कक्षा प्रभावकारी देखिएको ट्राफिक प्रहरीको भनाई छ ।
ट्राफिक नियम पालना नगर्नेलाई कार्बाहीभन्दा त्यस्तो अवस्था आउनै नदिन नयाँ कदम चालिएको ट्राफिक प्रहरीको भनाई छ । ‘धारोमा सधैं फोहोर पानी आयो भनेर कति पानी उमालेर मात्र खाने त ? पानीको मुहान नै सफा गर्नु राम्रो हो नि । त्यसैले हामीले जनचेतनालाई प्राथमिकता दिएका हौं’ पोखरेलले बताए । एक महिनाको अवधिमा तीनहजार भन्दा धेरैले प्रशिक्षण लिइसकेका छन् । ‘एकदिन सडकमा देखिने सबै चालक प्रशिक्षण कक्षा लिएका हुनेछन् र विस्तारै सडक सभ्यतामा सुधारसँगै दुर्घटना निकै कम हुन्छ भन्ने हाम्रो विश्वास छ’ पोखरेलले बताए ।
ट्राफिकको जनचेतना कक्षामा सहभागी भएका प्रशिक्षार्थीले पनि यो अभियान निकै सकारात्मक भएको बताए । प्रशिक्षण कक्षामा देखाइएको दुर्घटनाका डरलाग्दा तस्बिर, भिडियो र तथ्याङ्क हेरेपछि उनीहरु सचेत देखिन्थे । ‘लाइसेन्स लिएर सडकमा निस्केपछि ट्राफिक नियम पालना गर्नुपर्ने रहेछ भन्ने हामीले राम्रोसँग बुझ्यौं’ स्कुटरको लाइसेन्स लिन लागेकी अर्पणा बस्नेतले बताए । कार चलाउने लाइसेन्स लिन लागेका राजकुमार कार्कीले बताए ‘हाम्रो सानो लापर्वाहीले पनि धेरैको ज्यान जाने रहेछ, त्यसैले गाडी लिएर सडकमा निस्कँदा हरक्षण सचेत हुनुपर्दो रहेछ भन्ने महत्वपूर्ण जानकारी पाइयो । यहाँ सिकेका कुरा सबैले पालना गर्ने हो भने दुर्घटना नै हुने थिएन ।’
माइक्रोबस लगायत सार्वजनिक सवारीको लापर्बाही बढ्दै गएको गुनासो बढेपछि ट्राफिक प्रहरीले उनीहरुका लागि पनि अनुशासन तालिम सञ्चालन गर्ने भएको छ । दुई हप्ताअघि भएको यस्तो कार्यक्रम प्रभावकारी देखिएकाले यातायात व्यवसायी र मजदुर युनियनको अनुरोधमा फेरि सञ्चालन गर्न लागिएको हो । ‘अब यसलाइ नियमित रुपमा सञ्चालन गर्ने तयारीमा छौं’ ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी केशव अधिकारीले भने ‘अब केही दिनमै बृहत रुपमा यस्तो तालिम दिनेछौं, त्यसपछि पनि यसले निरन्तरता पाउँछ ।’ जथाभावी गाडी चलाउनेलाई कार्बाहीसँगै ट्राफिक नियम र अनुशासनबारे सिकाउन ट्राफिक प्रहरीले यस्तो अभियानलाई जोड दिएको हो । सडक अनुशासन नमान्ने प्रवृत्ति नै दुर्घटना हुनुको मुख्य कारण रहेको ट्राफिक प्रहरीको भनाई छ । माइक्रो लगायतका सार्वजनिक गाडीले जथाभावी गाडी चलाउँदा दुई पाङ्ग्रे सवारी, त्यसमा पनि स्कुटर चलाउने महिला बढि पीडित हुने गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो ९ महिनामा भएका झण्डै तीनसय स्कुटर दुर्घटनामा ८० प्रतिशत सार्वजनिक गाडीको कारणले भएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु