काठमाडौबाट हेटौंडा जाने छोटो दूरीको सडक बन्द

२०७० चैत्र २० गते, बिहीबार


काठमाडौ, २० चैत । काठमाडौबाट हेटौंडासम्मको छोटो दूरीको सडक बिहीबारदेखि एक महिनाका लागि बन्द गरिएको छ ।सडक डिभिजन कार्यालय हेटौडाले मर्मत गर्न भीमफेदी, कुलेखानी सडक एक महिनाका लागि बन्द गरेको हो । मकवानपुरको भीमफेदीबाट कुलेखानीसम्मको ११ किलोमिटर सडक कालोपत्रे गर्न, सडक फराकिलो बनाउन र जोखिमयुक्त क्षेत्रमा पर्खाल लगाउन लागिएकाले बन्द गरिएको कार्यालयका इन्जिनियर सुमन योगेशले जानकारी दिए ।
यो सडकमा बिहीबारदेखि एक महिनासम्म बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । दैनिक पाँच सयवटा टाटा सुमो चल्ने यो सडकमा दिउँसोको समयमा सार्वजनिक, निजी सवारी साधन तथा मोटरसाइकल सबै रोकिएको छ । हेटौडा, भीमफेदी, कुलेखानी, सिस्नेरी भएर काठमाडौ ओहोर दोहोर गर्ने सवारी साधनहरु ९ बजे भन्दा अगाडि नै सडक मर्मत गर्ने ठाउँबाट पार भइसक्नुपर्ने छ ।
एक महिनासम्म दिउँसोको समयमा हेटौंडा, भैसे, दामन, पालुङ भएर ओहोर दोहोर गर्न सक्ने सडक डिभिजन कार्यालयले जनाएको छ । अहिले यस सडकमा पिच भत्किएको खाल्डाखुल्डी धेरै भएको र साँघुरो भएकाले सवारी साधनहरु समस्यामा थिए । सडक साँघुरो भएकाले नै दुर्घटना बढी हुने गरेको थियो । मर्मतपछि सवारीका चालकहरुले समस्या भोग्नुनपर्ने र दुर्घटनामा पनि कमी आउने अनुमान गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु