जेष्ठ नागरिकको धर्ना स्थगित
काठमाडौं ,२० चैत। आन्दोलनरत जेष्ठ नागरिक संघर्ष समितिले सामुहिक रुपमा सिंहदरबार प्रवेश गर्ने घोषणा गरेपछि सरकारले माग सुनुवाइ गर्ने अश्वासन दिएको छ ।सरकारी अश्वासनपछि जेष्ठ नागरिकले धर्ना कार्यक्रम स्थगित गरेका छन् ।‘आज २ बजे सिंहदरबार प्रवेश गर्ने र सरकारलाई त्यहीं गएर हाम्रो कुरा राख्ने निधो गरेका थियौं’ समितिका उपाध्यक्ष महेन्द्रबहादुर भण्डारीले धर्नास्थलमा भने ‘तर सरकारले आन्दोलन रोक्नुस् । तपाईंहरुको कुरा सुन्छौं भन्यो । हामीले केही दिन धैर्यता राख्ने निर्णय गर्यौं ।’ उनका अनुसार सरकारले चैतभित्रै आफूहरुको माग सुनुवाइ गर्ने र त्यसको लागि छिट्टै वार्तामा बोलाउने आश्वासन दिएको छ ।
वृद्ध भत्ता मासिक ३ हजार रुपैंयाँ पुर्याउनुपर्ने, सार्वजनिक यातायातमा जेष्ठ नागरिकलाई ५० प्रतिशत आरक्षण दिनुपर्ने, जेष्ठ नागरिकको हकमा सर्वोच्च अदालतले ०६३ मा दिएको आदेश सरकारले पालना गर्नुपर्ने लगायतको माग राखी उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
धर्ना स्थगन घोषणा कार्यक्रममा उपस्थित गायक रायन श्रेष्ठले जेष्ठ नागरिकको आन्दोलन सशक्त बन्दै गएकोले आन्दोलन तुहाउने सरकारले आश्वासन दिएको पनि हुन सक्ने बताए । ‘आश्वासन झूटो पनि हुनसक्छ, हामीहरु सचेत बनौं’ उनले भने-’केही दिन धैर्य गरौं, नत्र फेरि आन्दोलन गर्नुपर्ने हुनसक्छ ।’