सार्वजनिक सवारीको मनपरी नियन्त्रण गरिने
काठमाडौं ,२७ चैत। माइक्रो तथा सार्वजनिक सवारीको मनपरी नियन्त्रण गर्न सरकारले चालकको सवारी अनुमतिपत्र (लाइसेन्स) निलम्बन गर्ने भएको छ ।उपत्यकामा पछिल्ला समय माइक्रोको दादागिरीका कारण दुर्घटनादर बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकसम्म गल्ती गर्ने सवारी चालकको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न लागेको बताइएको छ ।
महाशाखा प्रमुख डिआइजी केशव अधिकारीका अनुसार एउटै चालकले दुर्घटना गराउने दर बढ्दै गएकाले पटकपटक गल्ती गर्ने सवारी चालकको लाइसेन्स निलम्बन गर्न लागिएको हो ।उनले सवारी नियम पालन नगर्ने, दुर्घटना गराउने, लेन अनुशासन नमान्ने तथा आचारसंहिता विपरीत काम गर्ने चालकको अभिलेख राख्न सुरु भइसकेको बताए ।
महाशाखाले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ६० मा चालक अनुमतिपत्र निलम्बन गर्न सकिने व्यवस्था अनुसार कारबाही प्रक्रिया अगाडी बढाउन लागेको हो ।‘गल्तीका आधारमा चिट काट्दा र जरिवाना तिराउँदा चालकले गल्ती दोहोर्याइरहने समस्या देखियो,’ डिआइजी अधिकारीले भने, ‘जतिपटक गल्ति गरे पनि सामान्य जरिवाना तिरेर मुक्ति पाउने भएपछि चालकमा मनपरी बढेको हो ।’ उनले सवारी दूर्घटना न्यूनीकरणका लागि सरकार कडा बन्दै गएको बताए ।