आज जुडशीतल पर्व
काठमाडौं, २ वैशाख । मिथिलाञ्चलमा आज कृषि संस्कृतिको प्रतीक जुडशीतल पर्व मनाइँदैछ ।प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यो पर्व मिथिलाञ्चलमा नयाँ वर्षका रुपमा मनाइन्छ । सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गर्नु यस पर्वको उद्देश्य रहेको छ ।मिथिलाञ्चल मुख्यतः कृषि प्रधान क्षेत्र भएकाले यहाँ मनाइने चाडपर्वमा कृषि संस्कृतिको सुस्पष्ट प्रभाव प्रतिपादित हुन्छ । जुडशीतल पर्वमा प्रयोग हुने सबै कृषि कर्मबाट उत्पादित उत्पादन हुन्छन् । यस पर्वलाई वैशाखीसमेत भन्ने गरिएको छ । यसमा सातुको प्रधानता रहन्छ । यस पर्वमा घरका सबैभन्दा पाकोले बिहान उठेर नुहाइधुहाइ गरी जल लिएर आफ्ना ससाना बालबालिकाको तालुमा जलसिञ्चन गरी आशीर्वाद दिने गरिन्छ । यसो गर्दा बालबालिकाको मस्तिष्कले शीतलता पाई वर्षभरि नै उसले राम्रो काममा मन दिन्छ भन्ने विश्वास पाइन्छ ।
यस पर्वमा विभिन्न किसिमका तरुवा, खाना, करिबरी पकाई भोलिपल्ट आफ्नो इष्टदेवलाई चढाई अनि मात्र भोजन गर्ने गरिन्छ । सो दिन चुल्होमा आगो बालेर खान नपकाउने चलन पनि रहेको छ । अघिल्लो रात पकाएको बासी खाना खानाले शीतलता प्राप्त हुन्छ भने जनविश्वास पनि पाइन्छ । यस पर्वमा पुर्खाका लागि भनेर जलले भरेको घैँटो, सतुआ, जौ, आँपको टिकुला तथा पङ्खा दान गर्ने परम्परासमेत रहेको छ ।
जुडशीतल पर्वमा गृहिणीले इष्टदेवलाई पूरै निको पातमा सतुवा, आँपको टिकुलाबाट बनाइएको चटनी (अचार) पनि चढाउने चलन छ । यस पर्वमा रूखका जरामा पानी हाल्ने र इष्टदेवलाई बासी, बरी, भात, पुरी र तरकारीजस्ता परिकार पनि चढाइने गरिन्छ ।