बुधबारदेखि लोडसेडिङ घट्ने
काठमाडौं,२९ बैशाख – विद्युत प्राधिकरणले आगामी बुधबारदेखि लागू हुने गरी लोडसेडिङ दैनिक दुई घन्टा घटाउने तयारी गरेको छ । नदी र खोलामा पानीको बहाव बढेर बिजुली थपिएको प्राधिकरणले जनाएको छ ।पानीको बहावमा निरन्तर सुधार भइरहेको र कुलेखानीमा पानीको सञ्चिति राम्रो रहेकाले लोडसेडिङ घटाउने निर्णय भएको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवनकुमार क्षेत्रीले बताए । ‘बुधबारदेखि दैनिक १० घन्टा लोडसेडिङ हुन्छ,’ उनले आइतबार नागरिकसँग भने, ‘उत्पादन बढ्दै गएपछि विस्तारै घटाइनेछ ।’
प्राधिकरणले अहिले दैनिक १२ घन्टा (सातामा ८४ घन्टा) लोडसेडिङ गरिरहेको छ । शनिबारदेखि अघोषित रूपमा १० घन्टामात्र लोडसेडिङ गरिरहेको छ ।
सुख्खा समयमा सञ्चालन गरिए पनि कुलेखानी जलाशयमा पानीको सतह १५ सय १० मिटरसम्म रहेको प्राधिकरणले जानकारी दिएको छ । हिउँदमा कुल क्षमताको एकतिहाइ मात्र उत्पादन हुने विद्युत गृहबाट विस्तारै उत्पादन बढ्दै गएको उसको भनाइ छ । केन्द्रका अनुसार हाल एक सय ४४ मेगावाटको कालीगण्डकी ‘ए’बाट करिब ७० मेगावाट, मध्यमस्र्याङ्दी र मस्र्याङ्दीबाट ४० मेगावाट हाराहारी बिजुली उत्पादन भइरहेको छ ।
प्राधिकरणका अनुसार असारसम्म ८ देखि १० घन्टा लोडसेडिङ हुनेछ । साउनपछि विस्तारै कम हुने छ । यस्तै मंसिर अन्तिम सातादेखि नदीमा पानी घट्ने हुनाले प्राधिकरणले लोडसेडिङ समय बढाउने गरेको छ । आउने हिउँदमा निजी क्षेत्रका केही आयोजनाबाट बिजुली थपिने हुँदा लोडसेडिङ १२ घन्टाभन्दा बढी नहुने प्राधिकरणको प्रक्षेपण छ ।