सल्यानमा सम्वन्ध विच्छेद गर्नेको ओइरो
काठमाडौँ ,३० वैशाख। सल्यानमा गत साउनदेखि चैत मसान्तसम्ममा ५५ वटा सम्बन्ध विच्छेदका मुद्दा जिल्ला अदालतमा दर्ता भएको जिल्ला अदालतले जनाएको छ ।नौ महिनाको अवधिमा ५५ वटा सम्बन्ध विच्छेदका मुद्दा आउनु अहिले सम्मकै उच्च रहेको जिल्ला अदालत सल्यानका श्रेष्तेदार राजेन्द कुमार शर्माले बताए ।उनका अनुसार साबिकका वर्षहरुमा भन्दा यो नौ महिनाको अबधिमा सम्बन्ध विच्छेद गर्नेको संख्यामा बृद्धि भएको छ ।
आर्थिक वर्ष २०७०/०७१ मा ५५ र आव ०६९/०७० पेसी सरेका ६ गरी ६१ वटा सम्वन्ध विच्छेदका मुद्दा मध्ये ४० वटा मुद्दा अदालतले फैसला गरिसकेको उनले बताए । महिनामा ५ देखि ८ वटा सम्म सम्बन्ध विच्छेद गर्न आउने गरेका र प्राय सम्बन्ध विच्छेद गराउन आउनेहरु २० वर्ष भन्दा कम उमेरका रहेका उनले बताए ।
उमेर नपुगी विवाह गर्नु, अशिक्षा, वेरोजगारी, गरिबि, विश्वास र आपसी समझदारीको अभावलगायतका विभिन्न कारणले गर्दा सम्बन्ध विच्छेदका घट्नाहरु दिन प्रति दिन बढ्दै गईरहेको श्रेष्तेदार शर्माको भनाइ रहेको छ ।कम उमेरमा विवाह गर्दा सामाजिक जिम्मेवारी बढ्ने र उक्त जिम्मेवारीलाई बहन गर्न नसक्दा पनि सम्बन्ध बिच्छेद गराउन आउने गरेको अधिवक्ता थलराज भण्डारीले बताए । पछिल्लो चरणमा विवाह गरी श्रीमान रोजगारीको लागी विदेश जाने क्रमले पनि श्रीमान श्रीमतीमा विश्वासको संकट हुँदा पनि सम्बन्ध विच्छेद हुने गरेको छ ।