आज बुद्ध जयन्ती

२०७१ बैशाख ३१ गते, बुधबार


काठमाडौं , ३१ बैशाख । आज बैंशाख शुक्ल पूणिर्मा । प्रत्येक वर्ष आजको दिनलाई भगवान् गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाउने गरिन्छ ।गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ ।इसापूर्व ५६३ अर्थात आजभन्दा २५५८ वर्ष पहिले वैशाख शुक्ल पूणिर्मामा नेपालको लुम्बिनी भगवान् गौतम बुद्धको जन्म भएको थियो ।राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा रानी वन क्रीडा गर्दै गरेका अवस्थामा लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको बौद्ध ग्रन्थ ललितविस्तर सूत्रमा व्याख्या गरिएको छ ।राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएका विभिन्न दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्किएका थिए ।ईसा पूर्व ५२८ को वैशाख शुक्ल पूणिर्माकै दिन उहाँले बुद्धगयास्थित बोधिवृक्ष -पीपलको रुख) मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । बुद्धत्व प्राप्त गरेपछि नै सिद्धार्थ गौतमलाई गौतम बुद्ध भन्न थालियो । चार आर्य सत्य बुझ्ने व्यक्तिलाई नै बुद्ध भनिन्छ ।भव तृष्णा, विभव तृष्णा र काम तृष्णाका कारणले दुःखको उत्पत्ति हुन्छ र त्यसको निरोधका लागि निर्वाण प्राप्त गर्नुपर्दछ भन्ने बुद्ध धर्मको सार हो । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने ८ वटा मार्ग छन् भनी गौतम बुद्धले ज्ञान दिएका छन् ।ज्ञान प्राप्त गरिसकेपछि भगवान् गौतम बुद्धले सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरूलाई प्रथम पटक धर्म देशना गरेका थिए भनी बौद्ध धर्म ग्रन्थहरूमा उल्लेख गरिएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले जानकारी दिए ।
बुद्धले ज्ञान प्राप्त गरेर ४५ वर्षसम्म अनवरत त्यो ज्ञानको प्रचार प्रसार गरे । यही ज्ञानलाई पछि बौद्ध दर्शन भन्न थालियो र यसले छुट्टै धार्मिक सम्प्रदायको रुप ग्रहण गर्‍यो ।४५ वर्षसम्म ज्ञानको प्रचार प्रसार गरिसकेपछि ८० वर्षको उमेरमा ईसा पूर्व ४८३ मा वैशाख शुक्ल पूणिर्माकै दिन कुशीनगरमा बुद्धले महापरिनिर्वाण प्राप्त गरेका थिए ।
बुद्धजयन्तीको अवसरमा आज नेपाल सरकारले सार्वजनिक विदा घोषणा गरेको छ । गौतम बुद्धले शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिनुभएको थियो, जुन आधुनिक समाजमा अझ सान्दर्भिक बन्दै गएको छ ।नेपालको लुम्बिनी, स्वयम्भू, कीर्तिपुर, पाटन र बौद्धमा समेत छुट्टाछुट्टै मूल समारोह समितिहरूको गठन गरी प्रत्येक वर्ष साताव्यापी रुपमा बुद्ध जयन्ती मनाउने गरिन्छ ।हाल त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा बौद्ध दर्शन विषयको अध्ययन अध्यापन हुँदैआएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज हरि बोधिनी एकादशी

२०८२ कार्तिक १६ गते, शनिबार

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ कार्तिक १५ गते, शुक्रबार

विश्व सहरीकरण दिवस मनाइँदै

२०८२ कार्तिक १५ गते, शुक्रबार