डोल्पामा यार्सा खोज्नेको ताती
काठमाडौं,७ जेठ ।डोल्पा जिल्लामा यार्सा खोज्नेको ताती लागेको छ ।जेठ १२ गतेदेखि मात्र सुरु हुने यार्सा सङ्कलनमा जान डोल्पामा ५० हजार मानिस भित्रिएका छन् ।त्रिपुराकोट गाविसस्थित इलाका प्रहरी कार्यालयले सङ्कलन गरेको नामावलीअनुसार वैशाखको पहिलो हप्तादेखि आजसम्म सो सङ्ख्यामा मानिसहरू भित्रिएको जनाएको छ ।उनीहरू जाजरकोट, रुकुम, सल्यान, बाँके, सुर्खेत, दैलेख, जुम्ला, कालीकोट, गोरखा, काठमाडौंलगायतका जिल्लाबाट भित्रिएका हुन् ।यसमध्ये अधिकांश विद्यालय तहका र ११ तथा १२ कक्षामा पढ्दै गरेका विद्यार्थीहरू छन् ।
से-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले यार्सा सङ्कलन गर्ने पाटनहरूमा हातहतियार लिएर प्रवेश गर्न प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्धका कारण आएका मानिसहरूबाट ४ सय थान खुकुरीलगायतका घरेलु हतियार प्रहरीले बरामद गरेको जनाइएको छ ।डोल्पाका ४० भन्दा बढी पाटनमा यार्सा पाइने भएकाले यसका लागि जिल्लाभित्र र बाहिरका गरी यार्सा खोज्न जाने मानिसहरूको सङ्ख्या करिब एक लाखसम्म पुग्ने मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति त्रिपुराकोटका अध्यक्ष टीकादत्त न्यौपानेले जानकारी दिए ।