गरीब परिचयपत्र वितरण कार्यक्रम अलपत्र
काठमाडौ, २० जेठ ।सरकारले यसै वर्षावाट बितरण गर्ने भनिएको गरीब परिचयपत्र वितरण कार्यक्रम अलपत्र परेको छ । गरीब घर परिवार पहिचान गरि परिचयपत्र बाँड्ने काम यो वर्ष शुरु नहुने भएको हो ।यही वर्षदेखि बाँड्ने भनिएपनि संकलन गरिएको तथ्याङ्क विश्लेषणको काम नसकिएकोले अर्को वर्षदेखि मात्रै परिचयपत्र बाँड्ने काम शुरु हुने गरीब घरपरिवार छनोट तथा परिचयपत्र वितरण बोर्डका कार्यकारी उपाध्यक्ष दुर्गा भट्टराई न्यौपानेले जानकारी दिए ।
गरीब घरपरिवार पहिचानको लागि विभिन्न २५ वटा जिल्लाबाट घरपरिवारको तथ्याङ्क संकलन गरिएको छ । ती तथ्याङ्कलाई कम्प्युटरमा राखेर विश्लेषण गर्न नियुक्त गरिएको परामर्शदातालाई आउँदो साउनसम्मको समय दिइएकोले यो वर्षभित्र परिचयपत्र वितरणको काम शुरु नहुने भएको हो ।
हिमाल, पहाड र तराईका २५ वटा जिल्लाबाट झण्डै १३ लाख घरपरिवारको तथ्याङ्क संकलन गरिएको छ । त्यसमा जिल्लाका सबै परिवारको तथ्याङ्क रहेकोले विश्लेषण गरेर मात्रै गरीब पहिचान हुने उनले बताए । तथ्याङ्कको विश्लेषण पछि पनि कति आम्दानी भएको परिवारलाई गरिब मानेर परिचयपत्र उपलब्ध गराउने भन्नेबारे सरकारले फेरि निर्णय गर्नुपर्ने सहकारी तथा गरीबी निवारण मन्त्रालयका उपसचिब बाबुराम भुसालले बताए ।
सरकारले गरीब परिवारलाई सामाजिक सुरक्षा प्रदान गर्न र विभिन्न सेवाहरुमा प्राथमिकता दिन परिचयपत्र वितरण गर्ने कार्यक्रम ल्याएको हो । २ बर्ष अघि नै यो कार्यक्रम ल्याइए पनि प्रक्रियागत झञ्झटका कारण परिचयपत्र वितरणको काम शुरु हुन समय लागेको हो ।