सभासदलाई कुहिएको खाना
काठमाडौँ । संविधान दिन नसकेका सभासद्, नेतासहित उच्च कर्मचारीलाई संविधानसभा भवनको क्यान्टिनले सात दिने बासी खाना खुवाइदिएको छ । समयमै संविधान दिन्छु भनेर जनतालाई ठग्दै आएका नेता तथा सभासद्लाई भने यस पटक क्यान्टिन सञ्चालकले मज्जैसँग बासी खाना खुवाएर स्वाद चखाइदिएको छ, । यसअघिसम्म जनता मात्रै सडेगलेका र गुणस्तरहीन खाना खान बाध्य भएका थिए । यस पटक भने नेता तथा सभासद् नै परे बासी खाना खानेमा । बानेश्वरस्थित संविधानसभा भवनको संसद् सचिवालयको चमेनागृह -क्यान्टिन) ले बासी खाना खुवाउँदै आएको रहस्य खुलेको छ । बासी खाना खुवाउने गरेको पुष्टि भएपछि शुक्रबार त्यहाँं कार्यरत कर्मचारीले सिलबन्दी गरेर ताला लगाइदिएका छन् । सचिवालयको चमेनागृहको मासु ५ दिन बासी र दाल ३ दिन अघि पकाएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागले पुष्टि गरेपछि बन्द गरिएको हो । संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको शुक्रबार बैठकपछि सभापति डा बाबुराम भट्टर्राई, पूण्बहादुर खड्का र सचिव मुकुन्द शर्मा चमेनागृहमा खाना खान गएका थिए । खाना खाने क्रममा दाल र मासु गन्हाएपछि खाना कचौरामा राखी सचिव शर्माको कोठामा लगिएको थियो । त्यहीँबाट खाद्य प्रविधिका कर्मचारीलाई बोलाएर जाँच गर्दा बासी खाना पुष्टि भएको थियो । ‘मासु ५ दिनको बासी र दाल तीन दिनको बासी भन्ने पुष्टि भयो’ शर्माले भने । सचिवालयको चमेनागृहले बासी खाना खुवाउने गरेको यसअघि पनि गुनासो आउने गरेको थियो । शुक्रवार पुष्टि भएपछि संसद् सचिवालय कर्मचारी युनियनले सिंहदरवार र बानेश्वर दुवै ठाउँमा ताला लगाइदिएको हो । यसअघि गत बर्षजुन १०, २०१३ मा पनि सिंहदरबारस्थित प्रायजसो सबै साना-ठूला क्यान्टिनको खाना गुणस्तरहीन तथा बासी भेटिएको थियो ।