चालकले ज्यान मारे लाइसेन्स खारेज
काठमाण्डौं, २९ जेठ । सवारी दुर्घटनाबाट कुनै व्यक्तिको ज्यान गए अब सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) खारेज हुने भएको छ । मुख्य सचिव लीलामणि पौडेलको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गरी कम गराउनका लागि भन्दै बैठकले दुर्घटनामा ज्यान गएमा सवारी चालकको लाइसेन्स खारेज गर्ने निर्णय गरेको छ ।सोही आधारमा बैठकले दुर्घटना गराउने चालकलाई कारबाही गर्ने व्यवस्थासहित नयाँ कानुन ल्याउने निर्णय पनि गरेको छ । यसैगरी अब सवारीको लाइसेन्स लिनका लागि निश्चित मापदण्ड पूरागर्नुपर्ने व्यवस्था पनि बैठकले गरेको छ ।जसअनुसार निश्चित शैक्षिक योग्यता र निश्चित उमेरसमेत तोक्ने निर्णय बैठकले गरेको हो । यस्तै, सवारी गुड्ने सडकमा छोडिने पशु चौपायाको कारण दुर्घटना भएमा त्यसको सम्पूर्ण क्षतिपूर्ति सम्बन्धित पशु धनीले तिर्नुपर्ने व्यवस्था गर्ने निर्णयसमेत गरिएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिएका हुन् ।