मनसुन सुरु हुदै
काठमाडौ, १ असार । मौसमविद राजु प्रधानांगका अनुसार अबको केहि दिनभित्र मनसुन सुरु हुनेछ ।मनसुन भुटान हुँदै सिक्किमसम्म आइपुगेको र अब नेपाल प्रवेश गर्ने क्रममा रहेको मौसमविद प्रधानांगले जानकारी दिए ।उनका अनुसार ढिलोमा तीन चारदिन मनसुन सुरु हुने संकेत देखिएको छ । सामान्यतया जुन १० को आसपासमा मनसुन सुरु हुने भएपनि ढिलाई भएको छ । नेपाल लगायत दक्षिण एसियाको विभिन्न स्थानमा देखापर्ने मनसुनको उत्पत्ति हिन्द महासागरमा हुने गर्छ ।
गर्मीयामको बेला दक्षिण एसियाको भू–भाग र यससँग जोडिएको बंगालको खाडी, अरब सागर र हिन्द महासागरको सतहको पानी असमान रुपमा तात्ने कारणले देखा पर्ने मनसुन हिन्द महासागरबाट दक्षिण एसियामा बहने सिलसिलामा दक्षिण पश्चिम दिशाबाट भारतको केरला राज्यमा प्रवेश गर्ने गर्छ ।
त्यहाँबाट उत्तर–पूर्वतिर बहँदै भारतको विभिन्न ठाउँमा मनसुन देखा पर्ने गर्छ र त्यहाँबाट बंगालको खाडीको बाटो हुँदै बंगलादेशतिर प्रवेश गर्छ । यही मनसुनी वायु दिशा परिवर्तन हुँदै दक्षिणपूर्वी दिशाबाट नेपालको पूर्वी भेगमा प्रवेश गर्छ । मनसुन प्रवेश गर्न ढिलाई हुँदा देशभर गर्मी बढेको छ ।