पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौँ , ३ असार । गएरातीदेखि अवरुद्ध बनेको पृथ्वीराजमार्ग अझै खुल्न सकेको छैन ।पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा गाविस वडा नम्बर १ जवाङखोला र त्यस आसपासमा सडक माथीबाट झरेको पहिरो र लेदोले राती करिब १ बजेदेखिनै सडक अवरुद्ध बनेको हो । राजमार्ग अवरुद्ध हुँदा रातीदेखिनै सवारी आवत जावत रोकिएको छ ।
पृथ्वी राजमार्ग हुँदै अन्यत्र बाहिरिने सवारीहरु जवाङखोला आसपासमा नै अलपत्र परेका छन् । जवाङखोला आसपासमा मात्रै पाँच भन्दा धेरै स्थानमा लेदोमाटो र बालुवाले सडक पुरिएको छ ।डोजरको सहायतामा प्रहरी र स्थानीयबासिँदाले बाटो खुलाउने प्रयास गरिरहेका छन् । धेरै स्थानमा सडक छेकिएकोले सडक खुल्न अझै केही घण्टा लाग्ने प्रहरीले जानकारी दिएको छ । काठमाडौदेखि करिब ८५ किलोमिटर टाढा रहेको त्यस क्षेत्रमा अहिले सयौं गाडीहरु अलपत्र परेका छन् ।