आज हरिशयनी एकादशी
काठमाडौ,२४ असार ।आज हरिशयनी एकादशी भगवान विष्णुको पूजा आराधना गरी मनाईंदैछ ।आजको दिन ब्रत बस्ने तथा आरोग्यदायक, महाऔषधीय गुण भएको तुलसी घरआँगनमा रोपेर भगवान विष्णुको प्रतिकका रुपमा पूजा गर्ने चलन छ ।
पौराणिक कथन अनुसार मुर नामको दैत्यको आतंकबाट देवताहरुलाई मुक्ति दिलाउन भगवान विष्णुले ठूलो संघर्ष गर्नुपरेको र युद्धको थकानबाट विश्राम लिन बद्रीआश्रममा रहेको हेमवती गुफामा गई शयन गरेको भन्ने मान्यताका साथ आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो ।
हरिशयनी एकादशी संगै आजैदेखि चतुर्मास ब्रत पनि शुरु भएको छ । भगवान विष्णु आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीको दिन शयन गरी कार्तिक शुक्ल एकादशीको दिन ब्यूँझने मान्यताका साथ चतुर्मास भरी विष्णुको पूजा गर्ने, ब्रत बस्ने चलन छ । यो चतुर्मास अवधिभर मंगलकार्य नगर्ने र कुनै शुभकार्यको थालनी गर्नुहुँदैन भन्ने मान्यता पनि छ ।