आज गुरु पूर्णिमा
काठमाडौं, २८ असार । आज गुरु पूर्णिमा । हिन्दू धर्मावलम्बीले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरुषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई गुरुपूर्णिमाका रुपमा मनाउने गर्दछन् ।
द्वापरयुगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षेत्रपूर्णिमा अर्थात् गुरु पूर्णिमाकै दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रुपमा व्यासको जन्म भएको थियो । चारैवेद, अठार पुराण, भागवतगीताको सम्पादन आजकै दिनमा समाप्त गरी आफ्ना शिष्यलाई दर्शन दिएकाले यो दिनलाई गुरुपूर्णिमाको रुपमा मनाउने गरिएको हो ।
आजका दिन गुरुलाई फूलमाला अर्पण गर्दै उनीहरुबाट आशीर्वाद लिने चलन छ । संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ नष्ट गर्ने हो । आफ्ना शिष्यलाई उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर उनीहरुमा रहेको अन्धकाररुपी अज्ञान हटाउने गुरुलाई ब्रम्हा, विष्णु, महेश्वर र साक्षात् परम्ब्रम्हास्वरुप मानिन्छ ।