विषादी पूर्ण तरकारी नष्ट गरिने

२०७१ असार ३२ गते, बुधबार

काठमाडौ, ३२ असार । बढी मात्रामा विषादी भेटिए त्यस्ता तरकारी नष्ट गर्ने गरी ब्लकमा परीक्षण गर्न सुरु गरिएको छ ।तरकारी तथा फलफूलमा बिषादीको मात्राबारे कार्यविधि लागू भएपछि ब्लकमा तरकारी परीक्षण गर्न सुरु गरिएको हो । मंगलबार प्रहरीको सहयोगमा तरकारी बोकेका ४ वटा ट्रक नियन्त्रणमा लिई परीक्षण गरिएको बाली संरक्षण निर्देशनालयका प्रमुख डिल्लीराम शर्माले बताए ।
परीक्षण गरिएको तरकारीमा विषादीको मात्रा अधिकतम नभेटिएको उहाँको भनाई छ । यसभन्दा अघि पनि एक÷दुई ट्रक तरकारीको परीक्षण गर्दा फाटफूट रुपमा मात्रै विषादी प्रयोग भएको पाइएको थियो । तर कालिमाटी तरकारी बजारमा परीक्षण गर्ने पर्याप्त ठाउँ पनि नभएको र दैनिक तरकारी बोकेका ट्रकलाई ४/५ घण्टा रोकेर परीक्षण गर्न सम्भव नहुने भएकाले ५/७ दिनको फरकमा ब्लकमा परीक्षण गरिने शर्माले जानकारी दिए ।
त्यसबाहेक तरकारीको नमुना लिएर गरिने परीक्षण भने दैनिक भइरहने उनको भनाई छ । ब्लकमा परीक्षण गर्दा विषादीको अधिकतम मात्रा भेटिए ट्रकमा भएको पुरै तरकारी नष्ट गर्ने सरकारको तयारी छ । त्यस्ता तरकारी नष्ट गर्ने ठाउँको व्यवस्था भने काठमाडौ महानगरपालिकाले गर्नेछ ।तरकारीको मुख्य थोक बजार कालिमाटीमा गएको असार ४ गतेदेखि विषादी परीक्षण प्रयोगशाला स्थापना गरी दैनिक परीक्षण गर्ने गरिएको छ । परीक्षणका क्रममा विषादीको स्तर ३५ भन्दा तल भेटिए त्यस्तो तरकारीलाई खानयोग्य मानिएको छ । ४५ भन्दा माथि भेटिएका तरकारी भने स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु