आज कमैया मुक्ति दिवस
काठमाडौ, २ साउन । आज कमैया मुक्ति दिवस । सरकारले कमैया मुक्ति घोषणा गरेको १४ औँ वर्षगाँठ मुक्त कमैयाहरुले विभिन्न कार्यक्रम गरेर मनाउँदैछन् ।मुक्ति घोषणाको १४ वर्ष पुग्दा पनि मुक्त कमैयाहरुको उचित व्यवस्थापन हुन नसकेको उनीहरु बताउँछन् । शेरबहादुर देउवा प्रधानमन्त्री रहेको बेला सरकारले २०५७ साल साउन २ गते आजैका दिन पश्चिम तराईका बाँके, बर्दिया, दाङ्ग, कैलाली र कञ्चनपुरमा बर्षाैदेखि दासतापूर्ण जीवन बिताइरहेका कमैयालाई मुक्त गरेको हो ।
त्यसयता सरकारी÷गैरसरकारी निकायले करोडौं खर्च गरे पनि उनीहरुको व्यवस्थित पुनःस्थापना हुन भने सकेको छैन । उनीहरुका लागि छुट्याएको बजेट समेत पारदर्शी हुन सकेको छैन ।
मुक्ति घोषणाको १४ औँ वर्षगाँठ मनाउन गैरसरकारी संस्थाको पहलमा मुक्त कमैयाका ५० भन्दा बढी अगुवा काठमाडौ गएका छन् । यसैबीच राजधानी आएका मुक्त कमैया अगुवाहरुले दिउँसो राजधानीमा पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।