क्षमताभन्दा बढी कैदीबन्दी भएपछि समस्या

२०७१ श्रावण ३ गते, शनिबार

काठमाडौँ ,३ साउन। क्षमताभन्दा बढी कैदीबन्दी राखिएपछि जिल्ला कारागार सोलुखुम्बुमा रहेका कैदी/बन्दीहरु समस्यामा परेका छन् ।पुरुषतर्फ २५ जनाको क्षमता भए पनि हाल ६१ जना बन्दी रहेका छन् । दस जनाको क्षमता भएको महिला बन्दीगृहमा भने नौ जनामात्रै रहेको छ । पुरुषका लागि बनाइएको स्थायी दुई कोठा र अस्थायी एक कोठामा खचाखच गरी बस्दा पनि नअटेपछि दुई कैदीबन्दीलाई भान्साकोठामा बस्न तथा सुत्न व्यवस्था गरिएको छ ।
विसं २०६४ मा निर्माण गरिएको उक्त भवनमा कैदीबन्दी त्यस समयमा क्षमताअनुसारकै भए पनि दिन प्रतिदिन बन्दीको सङ्ख्या वृद्धि भएपछि यस्तो समस्या आएको हो । ठाउँ साँघुरो भएकाले खाना खानसमेत कुर्नपर्ने बाध्यता रहेको छ । पछिल्लो समय असारको दोस्रो हप्तादेखि अहिलेसम्म नौ कैदीबन्दी थपिएकाले झन समस्या थपिएको निमित्त जेलर रुद्र सुवेदीले जानकारी दिए । कैदीको सङ्ख्या थपिँदै गएपछि पछिल्लो पटक विसं ०६८ मा एउटा अस्थायी कोठाको निर्माण गरिएको थियो ।उक्त कारागारभित्र अब थप अस्थायी कोठा निर्माण गर्न खाली ठाउँ पनि नरहेकाले समस्या चर्को रहेको सुवेदीले बताए । यसबारेमा सम्बन्धित निकायलाई जानकारी गराइए पनि सुनुवाइ हुने सङ्केत नदेखिएको सुवेदीको भनाइ छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु