सार्वजनिक यातायातमा आरक्षण सिटको अनुगमन तिब्र पारिदै
काठमाडौ, ७ साउन । सार्वजनिक यातायातमा आरक्षण सिटको व्यवस्था प्रभावकारी रुपमा लागू गराउन ट्राफिक प्रहरीले कडाई पूर्वक अनुगमन गरेको छ ।झण्डै दुई हप्तादेखि गाडीमै गएर अनुगमन गरी आरक्षण सिटको व्यवस्था लागू गराउने प्रयास भइरहेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता बसन्त पन्तले बताए ।चालक, सहचालक सहित यात्रुलाई पनि आरक्षण सिटका बारेमा सचेत गराइएको उनको भनाई छ । काठमाडौं उपत्यकाभित्र चल्ने गाडीमा अहिले स्पष्ट रुपमा आरक्षण सिट उल्लेख गर्ने गरिएको छ । तर अपाङ्ग÷अशक्त आरक्षित सिटको व्यवस्था कार्यान्वयन भएपनि महिला आरक्षण सिट भने कार्यान्वयन हुन सकेको देखिंदैन ।
महिला आरक्षण भनेर लेखिएका सिटमा पुरुष यात्रु बसिदिने, तर महिला भने उभिनुपर्ने र महिलाले आग्रह गर्दा समेत सिट नछोड्ने प्रवृत्ति देखिएको ट्राफिक प्रहरीले जनाएको छ । वृद्धावस्थाका पुरुष यात्रु भए महिलाले नै सिट छोडिदिने तर अरु अवस्थामा आरक्षित सिटमा बसेका पुरुषलाई उठाउन खोजे अटेरी गर्ने र कतिपय यात्रुले गाली गर्ने गरेको महिला यात्रुको गुनासो छ ।
ट्राफिक प्रवक्ता पन्तले प्रहरीले दैनिक रुपमा सबै गाडीमा गएर आरक्षण सिटको व्यवस्था कार्यान्वयन गराउन सम्भव नहुने भएकाले महिला आफै पनि आफ्नो अधिकार लिन सजग हुनुपर्ने बताए । यस्तै चालक र सहचालक पनि आरक्षण सिटको दुरुपयोग नहोस् भन्नेमा सचेत हुनुपर्नेमा उनको जोड छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले स्थानीय बाटोमा चल्ने यात्रुबाहक सार्वजनिक ठूलो गाडीमा अशक्तका लागि चार वटा र महिलाका दुईवटा र लामो दूरीको गाडीमा पनि महिलाका लागि २ वटा सीट सुरक्षित राख्नुपर्ने व्यवस्था गरेको छ । सार्वजनिक गाडीमा महिला र अपाङ्ग सिटको व्यवस्था गरिएपनि ज्येष्ठ नागरिकका लागि आरक्षण सिटको व्यवस्था लागू हुन सकेको छैन ।
यातायात व्यवसायीले ६० वर्ष नाघेका सबैलाई सिटको व्यवस्था र भाडामा छुट दिन नसकिने भन्दै वृद्धभत्ता पाउने उमेरका वृद्धवृद्धालाई मात्रै यस्तो व्यवस्था हुनुपर्ने गरी नियम लगाउनुपर्ने बताउँदै आएका छन् ।