आज गठेमङगल

२०७१ श्रावण ९ गते, शुक्रबार


काठमाडौ, ९ साउन । आज श्रावण कृष्ण चतुर्दशी काठमाडौ उपत्यकाका नेवार समुदाय गठेमङगल पर्व मनाउदैछन ।घण्टाकर्ण पर्वलाई काठमाडौ उपत्यकाका नेवार समुदायले भने गठेमङगल पर्वका रुपमा मनाउने गर्दछन् । घण्टाकर्ण चतुर्दशीका विषयमा एउटा किम्बदन्तीसमेत प्रसिद्ध रहेको छ ।
परापूर्व कालमा नेपालमा गठामङ्गल नाम गरेको एउटा यस्तो राक्षस रहन्थ्यो जसलाई सत्य निष्ठामा रहेका मानिस मन पर्दैनथ्यो । सत्य निष्ठामा रहेका मानिसलाई मारिदिन्थ्यो । सत्य वचन सुन्नुपर्ला भनेर सधैं चिन्तित रहन्थ्यो ।
गठामुङ्गल राक्षसले आफ्नो कानमा सोह्रसत्र धार्नीको घण्टा झुण्ड्यायो अनि घण्टाको आवाजले सत्य वचन र राम्रा कुरा सुन्नु नपर्ने भयो भनी ढुक्क भयो । यसपछि गठामङ्गल राक्षस घण्टाकर्ण नामले चिनिन थाल्यो । यो राक्षसले सुनलाई भन्दा फलामलाई धनीलाई भन्दा मगन्तेलाई मन पराउँथ्यो । दोबाटो चौबाटोमा बसेर जे पायो त्यही खाने र बाटो हिड्ने मानिससित जगात ( पैसा) उठाउने यसको नियमित दिनचर्या हुन्थ्यो ।
पैसा नदिने मानिसलाई मारेर मासुु खान्थ्यो, महिलालाई बलात्कार गथ्र्यो र राम्रा जतिलाई श्रीमती बनाउँथ्यो । घण्टाकर्ण राक्षसको यस्ता क्रियाकलापबाट सबै मानिस आतङ्कित थिए । एकदिन भोकाएर निस्किएका बेला घण्टाकर्णको भेट भ्यागुतोसित भयो । घण्टाकर्णले भ्यागुतोसित मानव बस्ती कता छ भनी सोध्यो । भ्यागुतो पनि घण्टाकर्णको आतङ्कबाट पीडित बनेको थियो । भ्यागुतोले गहिरिएको हिलोबाटो देखाउँदै त्यतैबाट जान भन्यो । अलिपर पुग्नासाथ घण्टाकर्ण गहिरो हिलोमा फस्यो । उसले आफ्नो विशालकाय शरीर बाहिर निकाल्न सकेन । यही मौका छोपेर घण्टाकर्णबाट पीडित सबै मानिस जम्मा भएर ढुङ्गा, मुढा र लाठाले हिर्काएर मारिदिए । यसरी नरभक्षी राक्षसबाट मानव जातिले मुक्ति पाए ।
मानवता विरोधी घण्टाकर्ण राक्षस मारिएको दिन श्रावण कृष्ण चतुर्दशी परेकाले यस दिनलाई घण्टाकर्ण चतुर्दशी पनि भन्न थालियो । मानवता विरोधी राक्षसबाट मुक्ति पाएको सम्झनामा आजको दिन बिहानै स्नान गरी घरलाई सफा सुग्घर पारेर हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा उभ्याइन्छ । राति राँको बालेर भूत भगाइन्छ र पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पु-याइन्छ । अश्लील गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसलाई जलाइन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम घण्टाकर्ण र गठेमङ्गल पर्वको पद्धति रुद्रयामल तन्त्रशास्त्रमा आधारित तान्त्रिक पद्धति भएको बताउनुहुन्छ । जसअनुसार घण्टाकर्ण चतुर्दशीको राति चौबाटोमा घण्टाकर्णको अङ्गलाई दहन गरेमा सबै दुःख निवारण हुन्छ भनी बताइएको उहाँले जानकारी दिनुभयो ।
घण्टाकर्णकल्पमा घण्टाकर्णको स्मरण र पूजा मात्रले पनि कार्य सिद्धि हुने र शिव पार्वतीको कृपादृष्टि प्राप्त हुने वरदान भगवान शिवबाट मिलेको उल्लेख गरिएको छ ।
गोपाल वंशावलीअनुसार गठेमङ्गललाई सत्व, रज र तम गरी तीनगुणको प्रतीकका रुपमा त्रिपद संवर भैरव सससमेत भनी उल्लेख गरिएको छ । घण्टाकर्णलाई शिव र अर्धनारीश्वर नाट्येश्वरको प्रतीकका रुपमा समेत मानिन्छ । घण्टाकर्णलाई नवबिवाहित नारी पुरुषले दर्शन गर्नुपर्ने र नसके उन्मत्त भैरवको दर्शन गर्ने चलन समेत रहेको छ । पशुपतिनाथ मन्दिरको परिसरमा भैरवका रुपमा कृतिमुख पूर्व दक्षिण कुनामा अवस्थित छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु