अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन

२०७१ श्रावण २५ गते, आईतवार


काठमाडौ, २५ साउन । नेपाली चलचित्रका अभिनेता श्रीकृष्ण श्रेष्ठको गएराति दिल्लीको एपोलो अस्पतालमा निधन भएको छ । निमोनियाको समस्याका कारण गएको असार अन्तिम साता दिल्लीको एपोलो अस्पतालमा उपचार गराइरहुन भएका श्रेष्ठको उपचारकै क्रममा निधन भएको हो । निमोनियाले सताएर अत्याधिक खोकी लाग्ने हुन थालेपछि श्रेष्ठलाई आइसीयुमा राखेर एपोलो अस्पतालमा उपचार गराइएको थियो । श्रेष्ठको निधन भएपछि अहिले उनको परिवार र चलचित्र क्षेत्रका केही प्रतिनिधि दिल्ली जाने तयारीमा रहेको निर्देशक आकाश अधिकारीले बताएका छन् ।
२०४५ सालबाट नेपाली चलचित्रको यात्रा सुरु गरेका श्रेष्ठले आफन्त, आफ्नो मान्छे, ए मेरो हजुरलगायत एक सयभन्दा धेरै चलचित्रमा अभिनय गरेका छन् । ४५ वर्षका नायक श्रेष्ठले आफ्नै लगानीमा निर्माण गरेको चलचित्र केहिनुर शुक्रबारबाट मात्रै प्रदर्शनमा आएको छ । श्रेष्ठले नायिका स्वेता खड्कासँग गएको असार २३ गते विवाह गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]