आज फोटोग्राफी दिवस: फोटो खिचौं खुसी बाँडौं नाराका साथ मनाइदै
काठमाडौ, ३ भदौ।विश्व फोटोग्राफी दिवस मंगलबार ‘फोटो खिचौं खुसी बाँडौं’ नाराका साथ मनाइदैछ । दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहले भृकुटीमण्डपबाट बिहान र्याली निकालेको छ ।विश्वमै पहिलो पल्ट फोटो खिच्ने प्रविधि शुरु भएको दिनको सम्झनामा हरेक वर्ष अगस्त १९ तारिखमा यो दिवस मनाउने गरिएको छ । यो वर्ष विश्वमा फोटोग्राफी शुरु भएको १ सय ७५ वर्ष पूरा भएको छ । सन् १८३९ को अगस्ट १९ तारिखमा स्थायी फोटोग्राफिक प्रक्रियाले मान्यता पाएको थियो ।
फोटोग्राफी दिवस औपचारिक रुपमा मनाउन लागिएको भने विश्वमा ५ वर्ष र नेपालमा चार वर्ष मात्रै भएको छ । बिभिन्न किसिमका क्यामराको विकास भएकाले पछिल्लो समयमा व्यवसायिक तथा व्यक्तिगत रुचिका रुपमा फोटोग्राफीको चलन बढ्दो छ ।
संसारको हरेक कुनालाई निकट बनाउन, एकअर्काको संस्कृति, इतिहास बुझ्न र समृद्ध बनाउन, समाजमा लुकेर बसेका कुरा बाहिर ल्याउन फोटोग्राफीले निकै सहज बनाएकाले यसको शुरुवात भएको दिनलाई विशेष रुपमा स्मरण गर्ने गरिएको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष कविन्द्रमान शाक्यले बताए ।