सुनकोशीको ताल फुट्यो
काठमाडौं, २२भदौ । आज बिहान २ बजेतिर सिन्धुपाल्चोको मांखा गाविसको जुरेमा गएको पहिरोले सुनकोशी नदी थुनिएर बनेको ताल फुटेको छ । नेपाली सेनाले लगातार ताल फुटाउन विस्फोट गराएको र हिजो भएको ठूलो वर्षाका कारण बाँध फुटेको हो ।ताल फुटेर नदीमा पानीको बहाव बढेपछि खाडीचौर लगायतका तल्लो तटका स्थानीयबासी त्रसित भएका छन् । नदीमा पानीको बहाब बढ्दा सुनकोशी जलविद्युत आयोजना आंशिक रुपले डुबानमा परेको छ । ताल फुटे लगत्तै नेपाली सेना र स्थानीय प्रशासनले स्थानीयबासीलाई सुरक्षित स्थानमा सारेका छन् ।१ सय ५७ जनाको ज्यान लिनेगरि गत श्रावण १७ मा गएको पहिरोले सुनकोशी थुनिँदा कृत्रिम ताल बनेको थियो । ताल फुटेसँगै माथिल्लो तटीय क्षेत्रमा डुबानमा परेका घरहरु देखिन थालेका छन् । डुबानमा परेका राम्चेका १९ र धुस्कुनस्थित सानिमा हाइड्रो पावरको उत्पादन गृह देखिएको छ ।ताल थुनिएपछि नेपाली सेनाले बनाएको दोस्रो निकासबाट ताल फुटेको हो । ताल घटेसँगै डुबानमा परेको अरनिको राजमार्ग देखिन थालेको छ ।