चिनी उद्योग कृसकलाइ सताउदै
काठमाडौं । सर्लाही र महोत्तरीका चिनी उद्योगले गत बर्ष क्रसिङ्ग गरेको उखुको भुक्तानी किसानलाई अझै दिएका छैनन् । किसान र उद्योगीबीच लामो विवादपछि सरकार समेत बसेर गएकाे मौसमकोे लागि उखुको मूल्य प्रति क्वीन्टल ४७६ रुपैयाँ निर्धारण भएको थियो । सर्लाहीको इन्दु शंकर र महोत्तरीको एभरेष्ट चिनी उद्योगले किसानलाई प्रति क्वीन्टल ४०० रुपैयाँका दरले पेश्की भुक्तानी दिएपनि ७६ रुपैयाँ अझै दिएको छैन। अघिल्लो बर्ष भन्दा क्वीन्टलमा पाँच रुपैयाँ कम मूल्यमै चित्त बुझाएका किसान त्यहि मूल्य पनि समयमै नपाउँदा निराश भएका छन् ।
सरकार समेत बसेर निर्धारण गरेको उखुको पूरा मूल्य असोज लागिसक्दा पनि नपाएकोले किसानले सरकारको कमजोरीको रुपमा लिएका छन् । सरकारले बेवास्ता गरेकोले उद्योगीको मनोमानी वढेको किसानको ठहर छ । उद्योगले बाँकी भुक्तानी दियो कि तयहि खर्चले दशैं मनाउँला भनेर बसेका किसान दशैं अघि उद्योगले बाँकी पैसा देला जस्तो नलागे पछि निराश भएको मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष बेदबहादुर बुढाथोकीले बताउनु भयो । ‘हामीले उद्योगलाई दशैं अघि नै बाँकी पैसाको लागि धेरै पटक अल्टिमेटम दियौं, ज्ञापन पत्र बुझायौं तर कुनै सुनुवाई भएन ।’
तर इन्दु शंकर चिनी उद्योगका महाप्रवन्धक विजयकान्त झाले भने यस बर्ष चिनी नबिकेकोले किसानलाई समयमै भुक्तानी दिन नसकेको बताउनु भयो । ‘उद्योगको गोदाममा अझै एक लाख आठ हजार क्वीन्टल चिनी बाँकि छ । उत्पादित चिनी नबिकेकोले किसानलाई भुक्तानी दिन नसकेका हौं’, महाप्रवन्धक झाले भन्नुभयो, ‘चिनी बिक्नासाथ किसानको बाँकी भुक्तानी दिने छौं ।’
यस बर्ष चिनीको मूल्य घटेको र समयमै चिनी नबिकेकोले उद्योग घाटामा गएको झाको तर्क छ । भर्खरै साल्ट टेडिङ्ग लिमिटेडले उद्योगसँग ५०,००० क्वीन्टल चिनी लिने सम्झौता गरेको भन्दै झाले साल्ट ट्रेडिङ्ले पैसा दिनासाथ उद्योगले पनि किसानको बाँकी पैसा चुक्ता गर्नेे बताउनुभयो ।
सर्लाही, महोत्तरी सहित तराईका जिल्लामा उखु खेती बढेकाले उद्योगीहरु किसानले खाईपाई आएको मूल्य घटाउने र निर्धारित मूल्य पनि नदिएर किसानलाई झुलाउने षड्यन्त्रमा लागेको बुढाथोकीको तर्क छ । ‘किसानसँग विकल्प छैन, हामीले उखु नलिए किसानको उखु खेतमै सुक्छ भनेर उद्योगीहरुमा मनोमानी गर्ने प्रबृति बढ्दै गएको छ ।’ यसबाट उखु खेतीप्रति किसानको आकर्षण घट्दै गएको बुढाथोकीले बताउनु भयो ।
उखुको मूल्यको लागि बर्षेनी आन्दोलन गर्नु पर्ने, निर्धारित मूल्य पनि उद्योगले समयमै नदिने, सरकारी वेवास्ता जस्ता कारणले गर्दा किसान उखु खेती मासेर व्यबसायिक तरकारी खेतीप्रति आकर्षित हुदै गएका छन् । सर्लाही र महोत्तरीका पुराना उखु किसानले समेत उखु खेती छोडेर परवल, बोडी, टमाटर जस्ता नगदे तरकारी बाली लगाउन थालेका छन् । तरकारीबाट उखुको भन्दा राम्रो मूल्य लिन सकिने भएकाले पनि तरकारी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ ।