आजबाट छठ पर्व
काठमाडौं । मिथिलाञ्चलको महत्वपूर्ण छठ पर्व आजबाट शुरु भएको छ । चार दिनसम्म मनाइने यस पर्वका लागि धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, पर्सा, रौतहटसहित तराईका जिल्लाका नदी पोखरीलाई सजाउन शुरु गरीएको छ ।छठको पहिलो दिन आज अरबा अरबानइन वा नहान खान मनाइन्छ । ब्रतका क्रममा माछा, मासु, लसुन, प्याज, कोदो, मुसुरो जस्ता खानेकुरा त्याग्ने गरिन्छ । छठको दोस्रो दिनलाई खरना भनिन्छ ।
गाईको गोबरले लितपोत गरी अरबा चामलको पीठोबाट तयार पारिएको झोलनले भूमि सजाएर ब्रतालुले दिनभरी निराहार व्रत बस्ने गर्छन् र राती चन्द्रमालाई खीर चढाई सोही प्रसाद ग्रहण गर्छन् ।
छठको तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिई गहुँ र चामलको पिठोबाट बनेको परिकार चढाउने गरिन्छ भने चोथौं तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र खष्टी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने गरिन्छ । महाभारतकालमा द्रौपतिसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ ।
छठको अवसरमा जनकपुरका गंगा सागर, धनुष सागरसहितका दर्जनौ पोखरी र वीरगञ्जको घडीअर्वा पोखरीमा पूजा गर्न भक्तजनको विशेष भीड लाग्ने गर्दछ । काठमाडौंमा रानीपोखरी, कमलपोखरी, वाग्मती किनारलगायतका स्थानमा छठ मनाइन्छ ।
उता, छठ पर्वका लागि विभिन्न प्रसाद सामग्री खरीद गर्न तराईका बजारमा भीड लागेको छ । खासगरी छठमा अनिवार्य रुपमा चढाइने केरा, नारिवल र ऊखु किन्नका लागि पसलहरुमा ग्राहकको भीड देखिन्छ ।